काठमाडौँ। वैदेशिक रोजगारीको लागि टर्की लैजाने प्रलोभन देखाएर ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट गाउँपालिका ६ का २६ वर्षीय दीपेश गुरुङ र सोही ठाउँका २४ वर्षीय सौगात गुरुङ छन्। काठमाडौँ महानगरपालिका २६ बस्दै आएका दुवैलाई बुधबार पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनीहरूले आठ जनाबाट ८६ लाख २२ हजार ५७० रुपैयाँ रकम संकलन गरेका थिए। रकम लिएपछि विदेश नपठाई फरार भएपछि पीडित प्रहरीमा पुगेका थिए।
पक्राउ परेका दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
उनीहरूले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्कविहीन भएका थिए।
पीडितहरूले दिएको जाहेरीउपर अनुसन्धान हुँदा उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको पनि कार्कीले जानकारी दिए।