काभ्रेपलान्चोक। सरकारले सुकुमवासीलाई व्यवस्थित गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकमार्फत गरेको परिपत्रअनुसार पनौती नगरका विभिन्न वडाबाट १३७ सुकुमवासी परिवारले आफूलाई व्यवस्थित गर्न निवेदन दिएका छन्।
नगरको सार्वजनिक सूचनाअनुसार रोशी खोला–आसपास बसेका सुकुमवासीले उक्त सङ्ख्यामा हालसम्म निवेदन गरेको नगर कार्यालयले जनाएको छ।
नगर कार्यालयका अनुसार निवेदन आउनेक्रम रहेपनि ती परिवारलाई स्थानान्तरण गर्ने गरी उनीहरूका घर खाली गराउन प्रक्रिया थालिएको छ।
नगरले विशेष गरी खोला किनार र उच्च जोखिमयुक्त क्षेत्रमा रहेका बस्तीलाई प्राथमिकतामा राख्दै व्यवस्थापन प्रक्रिया अघि बढाउने तयारी थालिएको नगरप्रमुख रामशरण भण्डारीले बताए।
उनकाअनुसार अझै नगर क्षेत्र तथा सम्बन्धित वडा कार्यालयमा सार्वजनिक जग्गा तथा सुकुमवासी बस्तीसम्बन्धी निवेदन सङ्कलनकार्य जारी राखिएको छ।
नगर कार्यालयका अनुसार हालसम्म वडा नं ७ र ८ लगायत विभिन्न वडाबाट १३७ जनाको निवेदन दर्ता भइसकेको छ। यस्तै बाँकी वडाबाटसमेत विवरण आउने क्रम जारी रहेको जनाइएको छ।
यस्तै वडा नं २ बाट ५३, वडा नं ४ बाट ७, वडा नं ५ बाट ८, वडा नं ७ बाट १५, वडा नं ८ बाट ७, वडा नं ९ बाट ९, वडा नं १० बाट २४, वडा नं ११ बाट ८ तथा वडा नं १२ बाट ६ परिवारको निवेदन दर्ता भएको हो। नगर कार्यालयले पहिलो चरणमा रोशी खोला छेउका जोखिमयुक्त बस्ती हटाउने योजना बनाएको जनाएको छ।
वर्षायाममा बाढी र कटानको उच्च जोखिम हुने भएकाले त्यस्ता क्षेत्रमा बसोबास गर्ने नागरिकको सुरक्षालाई ध्यानमा राखेर प्रक्रिया अघि बढाइएको भण्डारीको भनाइ छ।
स्थानीय तहले सार्वजनिक जग्गाको संरक्षणसँगै दीर्घकालीन व्यवस्थापनको विकल्प खोज्ने तयारीसमेत गरिरहेको जनाएको हो। यसका लागि वास्तविक सुकुमवासीको पहिचान, तथ्याङ्क सङ्कलन र आवश्यक समन्वयको काम भइरहेको जनाइयो।