काठमाडौं । शुक्रबार सम्पन्न आइपिएल २०२६ को खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ५५ रनले पराजित गरेको छ।
हैदराबादले दिएको २५६ रनको विशाल लक्ष्य पछ्याएको बैंगलुरुले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०० रन मात्र बनाउन सक्यो।
टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २५५ रनको विशाल योगफल तयार पारेको थियो।
हैदराबादका लागि इशान किशनले ४६ बलमा ७९ रनको योगदान दिए। त्यसैगरी, अभिषेक शर्माले २२ बलमा ५६ रन र हेनरिक क्लासेनले २४ बलमा ५१ रनको विस्फोटक इनिङ खेले।
बैंगलुरुका बलर रसिक सलामले ४ ओभरमा ५२ रन खर्चेर २ विकेट लिए भने क्रुनाल पाण्ड्या र सुयश शर्माले १-१ विकेट हात पारे।
लक्ष्य पछ्याउने क्रममा बैंगलुरुका लागि रजत पाटीदारले ३९ बलमा ५६ रनको अर्धशतकीय इनिङ खेले। भेन्कटेश अय्यरले १९ बलमा ४४ रन र क्रुनाल पाण्ड्याले ३१ बलमा अविजित ४१ रन बनाए पनि त्यो टोलीलाई जित दिलाउन पर्याप्त भएन।
हैदराबादका बलर इशान मालिनडाले २ विकेट लिए भने ट्राभिस हेड र सकिब हुसेनले १-१ विकेट लिए।
यस हारका बाबजुद पनि रोयल च्यालेन्जर्स बैंगलुरु १८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा यथावत् छ।
समान १८ अंक भए पनि नेट रन रेटका आधारमा गुजरात टाइटन्स दोस्रो र सनराइजर्स हैदराबाद तेस्रो स्थानमा रहेका छन्।