काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

९ जेष्ठ २०८३
सुनीता डंगोल।
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनीता डंगोलले फ्रान्सको कानमा भएको यस वर्षको फिल्म फेस्टिभल नेपालीले गौरव महसुस गर्ने स्तरमा भएको प्रतिक्रिया दिएकी छन्। उनले यो क्षण नेपाली चलचित्र उद्योगका लागि गर्व गर्नलायक भएको पनि बताइन्।

फेस्टिभलमा सहभागी भएर स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीसँग उनले फेस्टिभलमा अविनाशविक्रम शाहले निर्देशन गरेको नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरू)’ ले अनसर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ प्राप्त गर्नुले नेपाली चलचित्र तथा रचनात्मक उद्योग र कला क्षेत्रको उचाइ अझ अग्लिएको धारणा राखिन्।

“नेपाली चलचित्र वर्ल्ड प्रिमियर हुँदा कलाकारसँगै बसेर चलचित्र हेर्दा गौरव अनुभूति भयो। चलचित्रले लगातार ७ मिनेटसम्म स्टयान्डिङ ओभेसन (लगातार ताली) प्राप्त गरेको थियो। सबै दर्शक इमोसनल हुनुभएको थियो‚” प्रिमियरबारे उनले भनिन्, “फेस्टिभलको इतिहासमा नेपाली चलचित्रलाई प्राप्त भएको यो पहिलो अवसर फुटबलप्रेमीका लागि विश्वकपमा जितेजत्तिकै महत्त्वपूर्ण र ऐतिहासिक बन्यो। यो स्थान हासिल गर्न अथक प्रयत्न गर्ने पर्दा अगाडिका कलाकार र पर्दा पछाडि निर्माण तथा सिर्जनामा काम गर्ने सबैप्रति हामी आभार र कृतज्ञता प्रदान गर्न चाहन्छौँ।”

फिल्म महोत्सवमार्फत काठमाडौँ महानगरले पनि रचनात्मक उद्योगसँग सम्बन्धित क्षेत्रको सन्तुलित विकास गराउन चाहने धारणा राखिन्। उनले भनिन्‚ “काठमाडौँ महानगरपालिकाले आयोजना गर्ने फिल्म फेस्टिभलको विषय कान महोत्सवमार्फत अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउनु, चलचित्र विधाका नगरबीच आपसी सम्बन्ध, सिकाइ तथा प्राविधिक क्षमता आदान-प्रदानको विषय प्रवेश हुनु हामी सबैका लागि सुखद कुरा हो। अन्तर्राष्ट्रिय स्तरको ज्ञान, सीप र अनुभवको उपयोग र फिल्म महोत्सवमार्फत हामी रचनात्मक उद्योगसँग सम्बन्धित क्षेत्रको सन्तुलित विकास गराउन चाहन्छौँ।”

कार्यवाहक प्रमुख डंगोललाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतसहित अधिकारीहरूले स्वागत गरेका थिए।

फ्रान्सको कान नगरका मेयर डेभिड लिसनार्डको निमन्त्रणा गएको आइतबार फ्रान्स प्रस्थान गरेकी डंगोलले, मेयर लिसनार्डलाई काठमाडौँ चलचित्र महोत्सवमा सहभागी हुन निमन्त्रणा दिइन्। मेयर डेभिडले काठमाडौँ फिल्म फेस्टिभलको सफलताका लागि सहयोग गर्न आफू तयार रहेको बताए।

फेस्टिभलमा चलचित्र उत्पादनसँग सम्बन्धित प्रविधि र प्राविधिक स्थलको अवलोकन, यी विषयमा नगरका प्रमुख तथा रचनात्मक उद्योग क्षेत्रका अधिकारीहरूसँग आपसी सिकाइ, भोगाइ तथा अनुभव आदानप्रदान भएको थियो।

चलचित्रबाट गीत, संगीत, साहित्य, फेसन, खानाजस्ता कला, शैली र शिल्पलाई रचनात्मक उद्योगमा विकसित गर्ने सम्भावनाका विषयमा कुराकानी भएको थियो। स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय क्षेत्रका चलचित्रलाई सिर्जनात्मक उद्योगमा जोड्ने, शिक्षा तथा प्राज्ञिक क्षेत्र, पेसाकर्मीको सहभागिता, आपसी सीप र हितका विषय भेट र छलफलमा समेटिएका थिए।

कान र काठमाडौँ दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन्।