काठमाडौं । वैदेशिक रोजगारीका लागि सिङ्गापुर पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका–२६ बस्ने ३७ वर्षीय शरण थापालाई पक्राउ गरेको हो।
प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१० बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ। कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार थापाल सामाखुसीस्थित माउन्ट एभरेस्ट ह्युमन रिसोर्स प्रालिका संचालक हुन्। उनले आकर्षक तलबको प्रलोभन देखाएर बेरोजगार युवायुवतीलाई सिङ्गापुर पठाइदिने भन्दै रकम उठाएका थिए। लामो समयसम्म सम्पर्कविहीन बनाएपछि परेको उजुरीका आधारमा अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा थापाले सिङ्गापुर पठाइदिने भन्दै प्रतिव्यक्ति एक लाखदेखि २४ लाख रुपैयाँसम्म असुलेको खुलेको छ। पीडितहरूलाई सिङ्गापुर पुगेपछि होटल तथा घरेलु कामदारको काममा लगाइने बताइएको थियो।
हालसम्म सम्पर्कमा आएका ४३ जना पीडितबाट पाँच करोड एक लाख बाह्र हजार रुपैयाँ ठगी भएको प्रहरीको भनाइ छ। खड्काले ठगिएका अन्य व्यक्तिलाई समेत वैदेशिक रोजगार विभाग ताहाचलमा सम्पर्क गर्न अनुरोध गरिएको बताए।