हेटौँडा। कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी २‚ शिखरकटेरीमा बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।
काठमाडौँबाट वीरगन्जतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ९६११ नम्बरको बसले घुम्तीमा विपरीत दिशातर्फ जाँदै गरेको ना.५९प ३३४५ नम्बरको स्कुटरलाई शनिबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक स्थानीय ५५ वर्षीय दोर्जेरत्न योञ्जनको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार दुर्घटनामा सख्त घाइते योञ्जनलाई उपचारका लागि हेटौँडास्थित सीएमसी चुरेहिल अस्पतालमा ल्याएकामा उपचारकै क्रममा मृत्यु भएको हो। स्कुटरलाई ठक्कर दिने बस र बसका चालक काभ्रेको चौँरीदेउराली गाउँपालिका २ का ४१ वर्षीय शिवबहादुर चौलागाईंलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।