काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

९ जेष्ठ २०८३
अ+
अ-

नुवाकोट। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सरकार गठन भएको छोटो अवधिमा गरिएको नवीनतम कार्यबाट जनतामा आशा जगाएको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) लिखु गाउँपालिकाको प्रथम अधिवेशनलाई आज (शनिबार) लिखु ६‚ छहरेमा सम्बोधन गर्दै उनले देश र जनतालाई हितमा राखेर सरकारले गरेका कार्यबाट सरकारी सेवा र सामाजिक न्यायको क्षेत्रमा भएका सुधारले सकारात्मक प्रभाव पैदा हुँदै आएको बताए।

“जनताको अभिमतबाट काम गर्न प्राप्त जिम्मेवारीमा अहिलेको सरकारले इमानदार भएर जनतालाई केन्द्रमा राखेर योजनाबद्ध रूपमा काम गर्दै आएको छ,” उनले भने, “पाँच वर्षका लागि काम गर्न प्राप्त जिम्मेवारीमा सरकारले एक सय दिन, ६ महिना, एक वर्ष हुँदै पाँच वर्षमा के-के गर्ने भनेर लक्ष्य लिएको छ। सोही लक्ष्य पूरा गर्दै अघि बढ्ने भएकाले पाँच वर्षमा जनताले महसुस गर्ने गरेर मुलुकमा परिवर्तन हुनेछ।”

सञ्चारमन्त्री तिमिल्सिनाले विगतका दिनमा राजनीतिले राज्यका निकाय र सार्वजनिक सेवा प्रवाहलाई बिचौलियाले नियन्त्रणमा लिएर जनतामाथि गरिएका अन्यायलाई उन्मुक्ति दिलाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। सरकार गठन भएको छोटो अवधिमै भएका कामकारबाहीबाट सामान्य नागरिकले समेत राहत पाउने गरेर सुधार गरिएको उनको भनाइ छ।

“देशको विकास र परिवर्तनका लागि अहिलेका जनता निकै सचेत छन्। जनताको चाहना र भावनाअनुसार सकारात्मक परिवर्तन गर्न सरकारले काम गरिरहेको छ। सरकारका लागि देश र जनताभन्दा कुनै अर्को ठूलो प्राथमिकता छैन,” मन्त्री तिमिल्सिनाले भने। देशमा विगतदेखिका विभिन्न समस्या र युवा वर्गको नैराश्यता अन्त्य गर्दै जनताको मुहारमा खुसी ल्याउन दिनरात नभनी सरकारले काम गरिरहेकाले परिवर्तन हुनेछ भन्नेमा आशावादी हुन उनले आग्रह गरे।

सञ्चार मन्त्रालयअन्तर्गतका नेपाल टेलिकम, हुलाकलगायत नवीनतम काम गर्दै जनतालाई राहत दिन आफूले योजनाबद्ध रूपमा काम गर्दै आएको उनले जानकारी दिए। अगामी पाँच वर्षमा रचनात्मक काम गरेर जनतालाई परिवर्तनको महसुस गराई जनताको मुहारमा खुसी ल्याउन अहिलेको सरकार सफल हुने उनले विश्वास दिलाए।

उनले आगामी आवका लागि तयार भइरहेको बजेटमा नवीन योजना र जनतालाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमसहितको समावेश गर्न लागिएको बताए। विगतका वर्षका बजेटमा राजनीति र शक्तिको पहुँच हाबी हुने गरेकाले आगामी वर्षको बजेटमा सामाजिक न्याय, जनताको माग र सरकारको लक्ष्यअनुरूप देश विकासको मुहार झल्कने ‘नयाँ भिजन’ को हुने उनले उल्लेख गरे। योजनाका लागि राजनीतिक दल, नेता, सांसद र मन्त्रीको ढोका चहानुपर्ने बाध्यता अन्त्य गर्दै पछि परेका वर्ग, समुदाय र भूगोलको प्रतिनिधित्वसहितको बजेट सरकारले तयार गरिरहेको उनले जानकारी दिए।

उनले जनतालाई केन्द्रमा राखेर राजनीतिक गर्न पार्टीपंक्तिलाई सुझाव दिए। नयाँ नेतृत्व चयनका लागि सौहार्द्रपूर्ण वातावरणमा निर्णय गर्न सुझाव दिँदै उनले अहिलेको राजनीतिक नयाँ मोडमा रहेकाले सोहीअनुसार अघि बढ्न सचेत गराए। “देशमा लामो समयदेखि राजनीतिलाई कमाउने भाँडो, आफ्ना मान्छेलाई जागिरमा लगाउने माध्यम र पहुँचमा भएका व्यक्तिको चाहनाअनुसार प्रयोगमा ल्याइयो,” उनले भने, “रास्वपाको राजनीति जनताको सेवा गर्ने माध्यम हो। जिम्मेवारीमा पुग्ने एउटा साधन हो, साध्यका रुपमा लिनु हुँदैन।”

देश र जनतालाई निश्चित ठाउँमा पुर्‍याउने औजारका रूपमा राजनीतिलाई रास्वपाले लिएको उल्लेख गर्दै उनले पार्टीमा जोडिने र जिम्मेवारीमा रहने व्यक्तिले जनताको सेवालाई केन्द्रमा राखेर काम गर्नुपर्ने स्मरण गराए। मन्त्री तिमिल्सिनाले पदलाई प्राप्तिका रूपमा नलिई राजनीतिक जिम्मेवारीका रुपमा लिएर संगडनलाई अघि बढाउन, विगतका बिग्रँदो राजनीतिलाई सुधार गर्न र आगामी स्थानीय तहको चुनावको तयारीमा ध्यान दिन अनुरोध गरे।

पार्टीका विभिन्न तहमा अहिले भइरहेका निर्वाचनमा पदको प्राप्तिभन्दा देश निर्माणमा आफ्नो जिम्मेवारीका रूपमा लिएर सौहार्द्रपूर्ण वातावरणमा नयाँ नेतृत्व चयन गर्न उनले सुझाव दिए।