काठमाडौँ। विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिक्की शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनीता कार्कीलाई एक तह बढुवा गरिने भएको छ।
सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पालाई तत्काल बढुवा प्रक्रिया अगाडि बढाइएको छ भने सशस्त्र प्रहरी सहायक हवल्दार कार्कीलाई हालको दर्जाको न्यूनतम अवधि पुगेपछि हवल्दारमा बढुवा गरिने भएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए।
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले यस्तो घोषणा गरेसँगै आवश्यक प्रक्रिया थालिएको पनि उनले बताए।
साथै सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सगरमाथा तथा लोत्से हिमालको सफलतापूर्वक आरोहण गरेका सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार कार्कीलाई हार्दिक बधाई दिनुका साथै उनीहरूले विश्वको सर्वोच्च शिखरमा राष्ट्र र संगठनको झन्डा फहराउनु गर्वको विषय भएको उल्लेख गरे।
उनले उच्च मनोबल र हौसलाका साथ विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा राष्ट्र र सङ्गठनको झन्डा फहराउनु गौरवको विषय भएको चर्चा गर्नहुँदै उनीहरूले गरेको हिमाल आरोहणले सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूको मनोबलमा समेत हौसला, प्रेरणा र उत्साह मिलेको बताए।
कार्यक्रममा शेर्पा र कार्कीले राष्ट्र र संगठनको झन्डा सर्वोच्च शिखर सगरमाथामा फहराउन पाउनु गर्वको विषय भएको र सफल आरोहणका लागि सहयोग, समन्वय तथा साथ दिनुहुने सशस्त्र प्रहरी बल नेपाललगायत सम्पूर्णमा हार्दिक कृतज्ञता तथा धन्यवाद व्यक्त गरे।
सशस्त्र प्रहरी सहायक हवल्दार कार्कीले जेठ ३ गते बिहान १० बजेर २० मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए।
सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पाले सोही दिन बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथा र ४ जेठको दिउँसो ३ बजेर २५ मिनेटमा लोत्से हिमालको सफल आरोहण गरेका थिए।
सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने शेर्पा र सगरमाथा आरोहण गर्ने कार्की सशस्त्र प्रहरीमा पहिलो महिला आरोही हुन्। उनीहरूलाई एपीएफ सम्मानबाट सम्मानित गरिने भएको छ।