काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

९ जेष्ठ २०८३
अ+
अ-

कोलकाता। अमेरिकी विदेशमन्त्री मार्को रुबियो पहिलोपटक भारत भ्रमणमा आएका छन्।

चीनसँग भएको शिखर सम्मेलनको एक हप्तापछि उनी शनिबार भारत आएका हुन्।

रुबियोले भारतको कोलकाताबाट आफ्नो चारदिने, भारत भ्रमण सुरु गरेका छन्। जहाँ उनले स्वर्गीय मदर टेरेसाको मिसनरीज अफ च्यारिटीको मुख्यालयको भ्रमण गर्ने कार्यक्रम तय भएको जनाइएको छ।

यो कार्यक्रमपछि रुबियो नयाँ दिल्ली जाने र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने अमेरिकी विदेश विभागले जनाएको छ।

रुबियोले क्वाडका लागि आएका–अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाका विदेश मन्त्रीहरूको बैठकमा पनि सहभागी हुने जनाइएको छ।

यसैबीच चीनले भने लामो समयदेखि क्वाडमाथि शंका गर्दै आएको छ। यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले गत हप्ता चीनको राजकीय भ्रमण गरेका थिए। जहाँ उनले केही घोषणा तथा सम्झौता गरेका थिए भने राष्ट्रपति सी चिनफिङबाट प्राप्त स्वागतको प्रशंसा गरेका थिए।

भारतसँग घनिष्ठ सम्बन्धको वकालत गरिरहेका रुबियोले पत्रकारहरूसँगको साक्षातकारमा यो भ्रमण आफ्नो जीवनको पहिलो भारत भ्रमण हुने बताए।

रुबियोसँग उनकी श्रीमती जेनेट पनि भारत भ्रमणमा आएको जनाइएको छ भने उनीहरूले भारतको आगरामा स्थित प्रेमको विश्वप्रसिद्ध स्मारक ताजमहलको भ्रमण गर्ने कार्यक्रम तय भएको जनाइएको छ।