कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अहिलेसम्मका परिवर्तनकारी आन्दोलनमा युवाको योगदान उल्लेखनीय रहेको बताएका छन्।
उनले २००७ सालदेखि गत भदौमा भएको जेन-जी आन्दोलनमा युवापुस्ताको उल्लेखनीय योगदान रहेको धारणा राखे।
धनगढीमा शनिबारबाट सुरु भएको ‘सुदूरपश्चिम प्रदेश युवा सम्मेलन २०२६’ को उद्घाटन सत्रमा उनले २००७ सालको क्रान्तिदेखि ०४६/४७ को जनआन्दोलन, ०६२/६३ को जनआन्दोलन हुँदै पछिल्लो जेन-जी आन्दोलनसम्म युवाले लोकतन्त्र, गणतन्त्रको स्थापना तथा सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरणका लागि उल्लेखनीय योगदान गरेका बताए। उनले मुलुकमा भएका विभिन्न परिवर्तनमा युवाको सकारात्मक सोच, सक्रियता र प्रविधिमैत्री प्रयोगको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे।
आगामी आव ०८३/८४ को नीति तथा कार्यक्रममा युवाका आवाज समावेश गर्न प्रदेश सरकार सकारात्मक रहेको मुख्यमन्त्री शाहले स्पष्ट पारे। उनले डिजिटल युगमा युवालाई अवसरसँगै सचेतनाको आवश्यकता रहेकामा जोड दिए।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष देवीप्रसाद खनालको सभापतित्व भएको कार्यक्रममा महासंघका केन्द्रीय उपमहासचिव किरण थापा र भवराज रेग्मी, युवा अभियानका अध्यक्ष योगेन्द्र काफ्ले तथा सुदूरपश्चिम प्रदेश युवा परिषद्का कार्यकारी सदस्य पृथ्वीबहादुर शाहलगायतको उपस्थिति थियो। आजदेखि सुरु भएको दुईदिने सम्मेलनमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट युवाहरूको सहभागिता छ। सम्मेलन १० जेठसम्म सञ्चालन हुनेछ।