सर्लाही। नदी तर्ने क्रममा डुबेर बेपत्ता भएका दुई युवकको शव फेला परेको छ।
बागमती नदी तर्ने क्रममा रौतहट र सिन्धुलीको सिमाना झप्सी भन्ने स्थानबाट शनिबार अपराह्न दुई युवक बेपत्ता भएका थिए। खोलामा बेपत्ता भएका लालबन्दी नगरपालिका ९‚ बस्तीपुरका १८ वर्षीय रोहित महतो र लालबन्दी नगरपालिका ६ का २० वर्षीय गणेश महतोको शव खोजीका क्रममा आज (आइतबार) बागमती नगरपालिका ११ स्थित खोलाकिनारमा फेला परेको प्रहरीले जनाएको हो।
शनिबार खोला तर्ने क्रममा झप्सी झुलुंगे पुलमुनिबाट उनीहरू दुई जनासहित बरहथवा नगरपालिका ५ का २८ वर्षीय सहमद मोमिन, २४ वर्षीय मोहम्द अखतर र ब्रह्मपुरी गाउँपालिका ३ का २० वर्षीय श्याम भण्डारीलाई समेत खोलाले बगाएको थियो।
बगेका तीनजना भने त्यसको केही मिटरको दूरीमा रहेको नुनथर क्षेत्रमा पौडिएर निस्कन सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।
उनीहरू शनिबार बिहानै घुम्न निस्किएको र उक्त स्थानमा पुगेको परिवारको भनाइ छ। बेपत्ता रोहित र गणेशको भने खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। दुवैजनाको शव घटनास्थलको मुचुल्कापछि परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ। घटनापछि मृतक युवकहरूको गाउँ शोकमा डुबेको छ।