काठमाडौँ। चर्चित बेलायती पर्वतारोही केन्टन कुलले विश्वको सर्वोच्च शिखर सगरमाथाको २०औँ पटक सफल आरोहण गरेका छन्। उनले विदेशी आरोहीतर्फ नयाँ कीर्तिमान कायम गरेका छन्। कीर्तिमानसहित उनी काठमाडौँ आइपुगेका छन्।
दक्षिण-पश्चिम बेलायतको ग्लोस्टरसायरका ५३ वर्षीय कुलले शुक्रबार बिहान सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन्। उनीसँगै अनुभवी शेर्पा आरोही दोर्जे ग्याल्जेन शेर्पाले पनि २४औँ पटक सगरमाथा आरोहण गर्दै अर्को महतत्वपूर्ण उपलब्धि हासिल गरेका छन्।
कुलले सन् २००४ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए। त्यसयता उनी विश्वकै सफल विदेशी पर्वतारोहीमध्ये एकका रूपमा परिचित छन्।
यसअघि सन् २०१३ मा उनले माउन्ट नुप्से, सगरमाथा र माउन्ट लोप्से एकै सिजनमा आरोहण गर्ने पहिलो बेलायती आरोही बनेर इतिहास रचेका थिए। त्यस्तै सन् २०२१ मा उनले सगरमाथा आरोहण गरेको २९ घण्टाभित्रै ल्होत्से पनि आरोहण गरेका थिए।
