फोटो कथा
पेट्रोलियम पदार्थमा लगाइएको कर खारेजीको माग गर्दै चितवनमा जेन-जी अभियन्ता ढुंगानाको नेतृत्वमा मोटरसाइकल तथा स्कुटर हातले डोर्याएर सरकारको विरोध
काठमाडौँ। पेट्रोलियम पदार्थमा लगाइएको कर खारेजीको माग गर्दै चितवनमा युवाहरूले विरोध प्रदर्शन गरेका छन्।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा निरन्तर रूपमा गरिरहेको मूल्यवृद्धिको विरोधमा आज (आइतबार) जेन-जी अभियन्ता मिरज ढुंगानाको नेतृत्वमा ‘गरी खान देऊ’ चितवन शाखाले मोटरसाइकल तथा स्कुटर नचलाई डोर्याएर विरोध र्याली निकालेको हो।
‘पेट्रोलियम पदार्थमा ६ कर माफ अभियान’ अन्तर्गत आयोजित र्याली चौबीसकोठी चोकबाट सुरु भई लायन्सचोकमा पुगेर समापन भएको थियो।
कार्यक्रममा सहभागी युवाहरूले ‘गरी खान देऊ’ र ‘महँगीको मारमा सुशासन फरार’ लगायत नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेका थिए।
प्रदर्शनकारीहरूले सर्वसाधारणलाई महँगीको चर्को मारबाट राहत दिन सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएका विभिन्न शीर्षकका ६ वटा कर तत्काल खारेज वा कटौती गर्नुपर्ने माग गरेका छन्।
माग पूरा नभए आन्दोलनलाई थप सशक्त बनाइने उनीहरूको चेतावनी छ।
