जुम्ला। जुम्लाको तिला गाउँपालिका– ९ मा रहेको ज्योति माध्यमिक विद्यालयको कक्षा कोठा भवनको छानो हुरीबतासले उडाएको छ। जस्तापाताको छाना हुरीले उडाएपछि पठनपाठन प्रभावित भएको छ।
हुरीबतासले विद्यालयको कार्यालयमा रहेका कागजपत्र पनि उडाएको छ। छानो उडाएपछि कक्षा सञ्चालन गर्न कोठा अभाव हुने वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिए। शुक्रबार साँझा आएको हुरीका कारण विद्यालयको भौतिक संरचनामा ठूलो क्षति पुर्याएको वडाध्यक्ष रावतको भनाइ छ।
विद्यालयमा जडान गरिएको सौर्य ऊर्जा प्रणालीसमेत पूर्ण रूपमा नष्ट भएको छ। राष्ट्रिय लाइनको विद्युत् सेवा पुगेको छैन। सौर्य ऊर्जामै निर्भर रहेको विद्यालयमा अहिले ऊर्जाविहीन बनेको विद्यालयका प्रधानाध्यापक मोतीराम बुढाले बताए।
हुरीबतासले विद्यालयको छानो उडाएपछि आगामी दिनमा नियमित कक्षा सञ्चालनमा थप समस्या हुने भएको छ। विद्यालयमा करिब १० लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रधानाध्यापक बुढाको भनाइ छ।
स्थानीय समुदाय, अभिभावक र श्रमदानबाट निर्माण गरिएको विद्यालय क्षतिग्रस्त भएपछि विद्यालय व्यवस्थापनले पुनर्निर्माणका लागि विभिन्न निकायसँग सहयोगको अपिल गरेको विद्यालयले जनाएको छ।