काठमाडौं । वर्षासँगै बाढीपहिरोका कारण देशका केही स्थानमा सडक अवरुद्ध छ । मध्यपहाडी लोकमार्गलगायत सडकखण्ड अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मध्यपहाडी लोकमार्गमा मात्र तीन ठाउँमा सडक अवरुद्ध छ ।
पाँचथरको याङवारक गाउँपालिका–३, ओयाम बजारमा सडक पूर्ण रूपमा अवरुद्ध छ । यही जेठ ८ गते राति करिब साढे ११ बजे उक्त स्थानस्थित च्याङथापुदेखि थर्पु जोड्ने मध्यपहाडी लोकमार्गमा पहिरो खस्दा बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ।
सोही राति करिब १२ बजे याङवारक–३, रिजालभीरस्थित च्याङथापुदेखि थर्पु जोड्ने मध्यपहाडी लोकमार्गमा पनि पहिरो खस्दा बाटो अवरुद्ध छ । सडकमाथिबाट ढुंगासहितको पहिरो झरी बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
याङवरक–२, दोभानमा पनि सडक अवरुद्ध छ । जेठ ८ गते राति करिब १२ बजे नै मध्यपहाडी लोकमार्गअन्तर्गत उक्त स्थानस्थित मेवाखोलामा निर्माणाधीन पक्की पुल बाढीले बगाउँदा सडक पूर्ण रूपमा अवरोध भएको प्रहरीले जनाएको छ ।
उता, हुम्लामा हिल्सा–सिमकोट सडकखण्डमा आवगमन बन्द गरिएको छ । नाम्खा गाउँपालिका–२, च्यादुकस्थित भित्री सडकखण्डमा बाटो खन्ने कार्य भइरहेकाले माथिबाट ढुंगामाटो खस्ने जोखिमका कारण वैशाख २९ गतेदेखि त्यहाँ आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ ।
यता, काभ्रे–सिन्धुलीस्थित बीपी राजमार्ग सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा लगाइएको रोक यथावत् छ । सम्भावित बाढीलाई मध्यनजर गर्दै त्यहाँ बेलुका ५ देखि बिहान ५ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।