काठमाडौँ। १३ फागुनमा भारतको नयाँ दिल्लीमा भएको चोरी घटनामा दुई जना नेपाली पक्राउ परेका छन्। प्रहरीले बाजुराकै खप्तडछेडेदह गाउँपालिका-३ का लोकेश धामी र बाजुराको बुढीगंगा नगरपालिका-१० का उपेन्द्र रावतलाई पक्राउ गरेको हो।
प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले लामो अनुसन्धानपछि तीन जनालाई पक्राउ गरेको हो। प्रहरीले पक्राउ परेकालाई शनिबार सार्वजनिक गरेको थियो। उनीहरूको साथबाट हिरा, मोती, सुनचाँदीका गरगहना, विभिन्न कम्पनीका घडी, मुद्रा समेत गरेर दुई करोड १० लाख रुपैयाँको सामान बरामद भएको छ।

प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाका अनुसार नयाँ दिल्ली राजेन्द्रनगरका सञ्जयकुमार माखीजाको घरमा १३ फागुनमा चोरी भएको थियो।
चोरी गर्ने व्यक्ति नेपाली रहेको जनाउँदै उनले सुदूरपश्चिम प्रहरी कार्यालयमा उजुरी दिएका थिए। यसपछि प्रहरीले अनुसन्धान थालेको थियो। चोरीमा संलग्न अछाम साँफेबगर नगरपालिका-४ का अर्जुन सुनार फरार छन्। उनलाई प्रहरीले खोजी गरिरहेको छ।

चोरी भएका सामानमा विभिन्न ब्रान्डका १० थान घडी थिए। जसको बजारमूल्य १ करोड ३४ लाख ९० हजार ४०५ रुपैयाँ रहेको छ। ती सबै सामान रावतबाट बरामद भएको रानाले बताए।
रानाका अनुसार रावतको साथबाट ४३ लाख ३३ हजार १४५ रुपैयाँ बराबरको १७२.७५ ग्राम सुन, ४९५ ग्राम चाँदी बरामद भएको छ। यस्तै, धामीको साथबाट डायमण्ड ३६.६२ ग्राम, सुनको चुरा २१.२३ ग्राम, औंठी २.६८ ग्राम बरामद भएको छ।
प्रहरीका अनुसार उनीहरू कामको खोजीमा दिल्ली पुगेका थिए। घरेलु कामदारको रुपमा काम गर्दागर्दै उनीहरू उक्त घरबाट सामान चोरी गरी नेपाल आएका थिए।