काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (ईयू) सँग आबद्ध विभिन्न मुलुकका राजदूतहरूले शिष्टाचार भेट गरेका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा आज (सोमबार) नेपालस्थित ईयूको कार्यालयका डेपुटी हेड अफ मिसन थोमस मिलर तथा लिथुवानिया, साइप्रस, चेक रिपब्लिक, लक्जेम्बर्ग, रोमानिया, डेनमार्क र नेदरल्यान्डका गैरआवासीय राजदूतहरुले शिक्षामन्त्री पोखरेलसँग संयुक्त भेटवार्ता गरे।
भेटमा द्विपक्षीय सम्बन्ध, शिक्षा क्षेत्रमा सहकार्यलगायत विषयमा विमर्श भएको थियो।
युरोपेली सम्बद्ध मुलुकका प्रतिनिधिहरूले नेपालको परिवर्तित सन्दर्भमा सरकारको प्राथमिकताको क्षेत्रका साथै नेपालको शिक्षा, खासगरी उच्च शिक्षामा सहकार्य र साझेदारी गर्न चासो देखाएका थिए। साथै उनीहरूले नेपालको नयाँ सरकारको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न सिङ्गो ईयू इच्छुक रहेको बताएका थिए। उनीहरूले नेपालको शिक्षा क्षेत्रमा भइरहेको सहयोगलाई निरन्तरता दिने र उच्च शिक्षामा कसरी सहकार्य र साझेदारीलाई अगाडि बढाउने विषयमा जोड दिएको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ।
सरकारका प्रवक्तासमेत रहेका पोखरेलले नेपालको शिक्षा क्षेत्रमा ईयूलगायत मुलुकले गर्दै आएको सहयोगका निम्ति धन्यवाद दिए। उनले आगामी दिनमा पनि यी देशसँग थप साझेदारी बढाउन मन्त्रालय तत्पर रहेको बताए।
उनले सरकारको नीति र प्राथमिकताबारे जानकारी गराउँदै विद्यमान शिक्षाका समावेशिता, पूर्वाधार विकास शिक्षक पेसागत विकासलगायत क्षेत्रमा भविष्यमा थप सहकार्य गर्न सकिने विचार व्यक्त गरे।
शिक्षामा प्रविधिको पहुँच विस्तार, उच्च शिक्षामा साझेदारिता आदि विषयमा एक-अर्का मुलुकहरूबीचको समन्वयलाई बलियो बनाएर लैजानुपर्नेमा उनको जोड थियो।
मन्त्री पोखरेलले मन्त्रालयले चालेका कदमबारे थप प्रस्ट्याउँदै शिक्षामा डिजिटाइजेसन, उच्च शिक्षामा विद्यार्थी मात्रै नभएर युनिभर्सिटीहरूका ‘फ्याकल्टी मेम्बर’हरुको एक्सचेन्जका कार्यक्रमहरू सञ्चालन गर्न तथा भविष्यमा शैक्षिक संस्था र विश्वविद्यालयहरूसँग थप सहकार्य र साझेदारीता बढाउन मन्त्रालय तयार रहेको उल्लेख गरे।
मन्त्री पोखरेलले उच्च शिक्षाको पुनर्संरचना गर्न लागिरहेको सन्दर्भमा विभिन्न मुलुकको विज्ञता र अनुभव साझा गर्न पनि आग्रह गरे। उनले दुई देशबीच खुला छलफलबाट आगामी दिनमा के कस्ता सहकार्य गर्न सकिने धारणा राखे।
त्यसैगरी साइप्रस, रोमानिया, नेदरल्यान्डलगायत मुलुकका राजदूतहरूले शिक्षाको क्षेत्र विशेषतः उच्च शिक्षाको क्षेत्रमा सहकार्य गर्न आफूहरू तत्पर रहेको बताएका थिए।
साइप्रस, रोमानियालगायत देशमा उच्च शिक्षा अध्ययनका लागि नेपालीहरू जाने प्रवृत्ति बढिरहेको सन्दर्भमा दुई देशबीचको सम्बन्धलाई थप विस्तार गरेर अगाडि बढ्नुपर्नेमा उनीहरूको जोड थियो।