काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

११ जेष्ठ २०८३
देउवा दम्पती। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पक्राउ पुर्जीअनुरूप देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चले आदेश दिएको हो। देउवाले आफ्नो पक्राउ रोक्न वारेसमार्फत रिट दायर गरेका थिए। रिटमाथि सुनुवाइ सकिएपछि न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।

‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्न अनुमति माग गर्दा र प्रदान गर्दा यी कानुनी व्यवस्थाले निर्दिष्ट गरेबमोजिमको विधि र ढाँचा अवलम्बन भएको देखिँदैन। यो अवस्थामा पक्राउ पुर्जी जारी गर्ने अनुमति माग गर्ने र प्रदान गर्ने कार्यमा प्रचलित कानुनको प्रक्रिया अवलम्बन भएको देखिन आएन,’ सर्वोच्चको आदेशमा छ।

आदेशको लिखितप्रति भने आउन बाँकी छ। देउवाले रिटमा आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताउँदै पक्राउ गर्नुपर्ने अवस्था नरहेको उल्लेख गरेका थिए।

उपचारका लागि विदेशमा रहेका देउवा दम्पतीलाई पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोलमार्फत ‘रेड नोटिस’ जारी गर्न पत्राचार गरेको थियो। इन्टरपोलले ‘रेड नोटिस’ जारी गर्न आवश्यक कागजात पर्याप्त नभएको बताएको थियो।

चुनावअघि हङकङ गएका देउवा दम्पती अझै फर्किएका छैनन्।