काठमाडौँ। नेपाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ।
काठमाडौँमा सोमबार पत्रकार सम्मेलन गर्दै समितिले आफूहरूले अघि सारेका १५ बुँदे माग पूरा नभए आन्दोलन गर्ने भन्दै देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो।
उनीहरूले विकल्प दिएर मात्रै डोजर लगाउनुपर्ने, जोखिमयुक्त स्थानमा बसोबास गरिरहेकालाई जमिनसहित उचित व्यवस्था गर्नुपर्ने, नागरिकको संवैधानिक र मानवीय अधिकारको संरक्षण गर्नुपर्नेलगायत माग अघि सारेका छन्।
समिति संयोजक खगेन्द्र पौडेलले लाखौँ भूमिहीन-सुकुम्बासी समुदायमाथि वैकल्पिक पुन:स्थापना, उचित व्यवस्थापनविना डोजर लगाइएकाले संघर्षमा उत्रिन बाध्य भएको बताए।
उनले अहिले बसेकै स्थानमा जमिन दिन पनि सरकारको ध्यानाकर्षण गराए। वर्षौंदेखि बसोबास गर्दै आएका भूमिहीन तथा सुकुम्बासीलाई विनाविकल्प डोजर लगाउने आफूहरूको मानवअधिकारको हननसमेत भएको समितिले जनाएको छ।