काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

११ जेष्ठ २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। डेढ करोड रुपैयाँ बढी ठगी गरेको आरोपमा मेनपावर व्यवसायी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत पन्जाब राज्य मोहाली जिल्लाका २६ वर्षीय अमित कुमार र भारत हरियाणा राज्य परिदावाद जिल्लाका ३० वर्षीय राहुल कुमार छन्।

दुवै काठमाडौँ महानगरपालिका ११ मा रहेको डब्लूडब्लूआईसीएस इमिग्रेसन सर्भिस नेपाल प्रालिका सञ्चालक हुन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुवैलाई मेनपावरबाटै पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काले बताए।

बिजनेस स्टार्टअप भिसामा क्यानडा लैजाने भन्दै दुवैले एक करोड ५७ लाख ६५ हजार चार सय रुपैयाँ ठगी गरेको खड्काले बताए। प्रतिव्यक्ति अमेरिकी डलर ८० हजार रुपैयाँ लाग्ने भन्दै उनीहरूले रकम संकलन गरेका थिए।

प्रहरीका अनुसार सुरुमा उनीहरूले भिसा प्रक्रियाको सुरुवातमा १० हजार अमेरिकी डलर अग्रिम असुलेका थिए। डाक्टर र नर्स पेसामा आबद्ध व्यक्तिलाई समेत भिसा दिने भनी प्रलोभनमा पारेर दुवैले पीडित बनाएको खुलेको छ।

“नेपाली नागरिकको नाममा कार्यालय दर्ता गरे पनि कार्यालय प्रमुखसहित अधिकांश भारतीय नागरिक राखेको पाइएको छ,” खड्काले भने। दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।