भक्तपुर। ‘हस्तकला, मौलिक संस्कृति र दिगो पर्यटन-विकसित र व्यावसायिक भक्तपुर हाम्रो चिन्तन’ भन्ने नाराका साथ शुक्रबारदेखि दोस्रो भक्तपुर औद्योगिक प्रवर्द्धन व्यापार मेला-२०८३ हुने भएको छ।
भक्तपुर उद्योग वाणिज्य संघको आयोजना र उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा १५ र १६ जेठ मेला हुने भएको हो।
भक्तपुरका मौलिक उत्पादन एवं स्थानीय स्रोत-साधनबाट उत्पादित हस्तकलाका सामानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजार प्रवर्द्धन गर्न र उद्योग, व्यापार, कृषि, पर्यटन, संस्कृतिको प्रवर्द्धन गरी जिल्लाको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्य छ।
भक्तपुर औद्योगिक क्षेत्र परिसरमा दुई दिन चल्ने मेलामा करिब ५० हजार जनाले अवलोकन गर्ने अपेक्षा आयोजकको छ।
मेलामा मौलिक हस्तकलाका उत्पादन, कृषि उत्पादन, तयारी पोसाक, बालबालिकाका खेलौना, गरगहना, सौन्दर्य तथा शृंगारका सामग्री, मूर्ति तथा उपहारका सामग्री, रैथाने तथा अर्ग्यानिक खाद्य सामग्री, इलेक्ट्रोनिक्सलगायत अन्य विविध सामग्रीका ६० भन्दा बढी स्टल छन्।
मेलामा स्थानीय खानाका स्टलहरू पनि रहनेछन्। विशेष सांगीतिक कार्यक्रमसमेत हुनेछ। बालबालिकालाई मनोरञ्जनका लागि बाल उद्यानको व्यवस्था हुने आयोजकले जनाएको छ।
सार्वजनिक बिदा शुक्रबार र शनिबार हुने मेलाका लक्षित आगन्तुकमा विशेषगरी आन्तरिक तथा बाह्य पर्यटक, दैनिक उपभोग्य सामग्रीका उपभोक्ता, हस्तकला व्यवसायी, थोक तथा खुद्रा व्यवसायी, विभिन्न संघ-संस्था, सरकारी निकाय, स्थानीय खानाका पारखी, बैंक, वित्तीय संस्था र सहकारी संस्था, विद्यार्थीलगायत छन्।
नेपाल उद्योग वाणिज्य महासंघ मेलाको सहयोगी निकाय हो भने इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्राइभेट लिमिटेडले मेला व्यवस्थापनको जिम्मेवारी लिएको छ।