काठमाडौँ। वैदेशिक रोजगारीका लागि युरोपका विभिन्न देश पठाउने बहानामा ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलाश गाउँपालिका १०‚ मकवानपुरका ४१ वर्षीय भीम लामा छन्।
टोखा नगरपालिका ८‚ काठमाडौँ बस्दै आएका लामालाई सोमबार काठमाडौँ ११ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले बताए। खड्काका अनुसार लामाले एकजना व्यक्तिबाट एक करोड ९३ लाख रुपैयाँ ठगी गरेका छन्।
युरोपका विभिन्न देश पठाइदिने र त्यहाँ आकर्षक तलब दिइने भन्दै लामाले ती व्यक्तिसँग रकम लिएका थिए। रकम बुझेपछि लामा फरार भए। लामो समय सम्पर्कमा नआएपछि पीडित प्रहरीमा पुगेका थिए।
यस्तै क्यानाडा पठाउने बहानामा पाँच लाख ३२ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले गुराँस गाउँपालिका ३‚ दैलेखका ३९ वर्षीय खड्कध्वज शाहीलाई पक्राउ गरेको छ।
बूढानीलकण्ठ नगरपालिका ३‚ काठमाडौँबाट शाहीलाई मंगलबार पक्राउ गरिएको हो। पक्राउ परेका दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।