काठमाडौं। काठमाडौंबाट सुर्खेत जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा ३८ जना यात्रु घाइते भएका छन्।
महाराजगंज नगरपालिका-४ बरइपुरस्थित तौलिहवा-बहादुरगंज हुलाकी सडकखण्डमा काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १२६६ नं को बस बिहान सवा ३ बजे आफैं अनियन्त्रित भई दुर्घटना भएको कपिलवस्तु प्रहरीले जनाएको छ।
जिल्ला अस्पताल तौलिहवाका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते हुनेहरूमा बर्दियाकी पवित्रा देवकोटा र सुर्खेतका प्रकाश विक छन्।
तौलिहवामा प्राथमिक उपचारपछि थप उपचारका लागि ३५ जना घाइतेलाई भैरहवाका अस्पतालहरूमा रिफर गरिएको छ।
दुर्घटनामा सकुशल रहेका अन्य यात्रुहरूलाई भने अर्को गाडीको व्यवस्था गरेर सुर्खेततर्फ पठाइएको छ भने दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान थालेको छ।