काठमाडौँ। परराष्ट्र मन्त्रालयले सहज रूपमा कन्सुलर सेवा प्रदान गर्न ‘परराष्ट्र मित्र’ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ।
त्रिपुरेश्वरस्थित कन्सुलर विभागमा मंगलबार आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले ‘परराष्ट्र मित्र’ मोबाइल एप्लिकेसनको औपचारिक रूपमा आरम्भ गरे।
कार्यक्रममा मन्त्री खनालले लाखौँ नेपाली देशबाहिर बसोबास गरिरहेको र विदेश जानेको संख्या पनि बढ्दै गएकाले कन्सुलर सहायता पहिलेभन्दा बढी महत्त्वपूर्ण भएको बताए। उनले कन्सुलर सेवा अझ पहुँचयोग्य र प्रभावकारी बनाउन डिजिटल प्रविधिको प्रयोगलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए।
आपत्कालीन अवस्थामा रहेका नेपालीको उद्धार र त्यसको जानकारी सम्बन्धित व्यक्तिका परिवारलाई दिने, विदेशमा रहेका अन्य नेपालीको समस्या पहिचान गरी समाधान गर्नेलगायत काममा सहजता प्रदान गर्न एप्लिकेसन प्रभावकारी हुने उनले बताए।
उनले विदेशमा रहेका नेपाली नागरिकका परिवारले एपमार्फत आफ्ना चिन्ता र गुनासा अनलाइन दर्ता गर्न सक्ने व्यवस्था गरिएको पनि जानकारी दिए। समस्यामा परेकाहरूको प्रभावकारी समाधानका लागि सम्बन्धित नेपाली नियोगसँग प्रत्यक्ष सम्पर्क गराइनेसमेत उनले बताए।
