जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
पाँचजना प्रदेशसभा सदस्यले मंगलबार साँझ मन्त्रीको पद तथा गोपनीयताको शपथ लिए।
युवराज भट्टराईले अर्थमन्त्री, लखन दास तत्माले खेलकुद तथा समाज कल्याण, शारदा देवी थापाले श्रम तथा यातायात, मनोजकुमार सिंहले शिक्षा तथा संस्कृति र नागेन्द्र साहले स्वास्थ्य तथा जनसंख्यामन्त्रीका रूपमा शपथ लिए।
नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ गराए। तीन दलबीच मन्त्रालयको भागबन्डा नमिल्दा दुई दिनदेखि मन्त्रिपरिषद् विस्तारको तयारी गरे पनि हुन सकेको थिएन।
आज (मंगलबार) नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीबीच १५ बुँदे समझदारी भएपछि मन्त्रिपरिषद् विस्तार भएको हो।