काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाह एक साताभित्र सदनमा उपस्थित हुने जानकारी गराएको छ।
प्रतिनिधिसभाको मंगलबार बसेको दोस्रो बैठकमा पनि विपक्षी सांसदहरूले विरोध जनाएपछि रास्वपाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले प्रधानमन्त्री शाह एक साताभित्र सदनमा उपस्थित हुने जानकारी गराए। संसद्लाई सहज रूपमा अघि बढाउने सन्दर्भमा एक साताभित्र प्रधानमन्त्री आउने निश्चित भएको उनले बताए।
बुर्लाकोटीले प्रधानमन्त्री आउने जानकारी गराएपछि नेकपा एमालेकी संसदीय दलका उपनेता पद्मा अर्यालले सभामुखले कार्यव्यवस्था परामर्श समितिमा भएको समझदारीअनुसार बैठकमा सत्तापक्षको प्रस्तुति नआएको आरोप लगाइन्। उनले संसद् सरकारको भजन गाउने थलो नभएको भन्दै सरकारलाई सदनप्रति उत्तरदायी बनाउने जिम्मेवारी पूरा गरेको बताइन्।
त्यस्तै अन्य विपक्षी सांसदहरूले पनि प्रधानमन्त्री आउने जानकारीअनुसार सभामुखको कुर्सीबाट रुलिङको माग गरेका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री सदनमा आउने विषयमा रास्वपाबाट जानकारी प्राप्त भएकाले सहज रूपमा सदन अघि बढाउन आग्रह गरेका थिए।
सभामुखको आग्रहपछि विपक्षी दलका सांसदहरूले सदनको अवरोध हटाएर विधेयकमाथिको छलफलमा भाग लिएका छन्।