काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१३ जेष्ठ २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। विदेश पठाइदिने भन्दै ठगीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

क्यानडा पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुर रौतामाई गाउँपालिका ४ का ४५ वर्षीय रामबहादुर आलेमगर छन्।

तारकेश्वर नगरपालिका ७‚ काठमाडौँ बस्दै आएका उनलाई आइतबार पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। तारकेश्वर नगरपालिका ८ बाट पक्राउ परेका आलेमगरले चारजना पीडितलाई क्यानडा पठाउने आश्वासन दिएका थिए।

चार जनाबाट २९ लाख ५८ हजार रुपैयाँ रकम संकलन गरेपछि उनी सम्पर्कविहीन बनेको आरोप लगाउँदै पीडितले प्रहरीमा उजुरी दिएका थिए। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आलेमगरलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

यसैगरी वैदेशिक रोजगारीको सिलसिलामा न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा लहान नगरपालिका ६‚ सिरहाका ३२ वर्षीय आशिक कार्की पक्राउ परेका छन्। गोकर्णेश्वर नगरपालिका ६‚ काठमाडौँबाट पक्राउ परेका कार्कीले तीन जनालाई न्युजिल्यान्ड पठाउने भन्दै १३ लाख रुपैयाँ ठगी गरेको आरोप छ।

यस्तै यूके पठाउने भन्दै १९ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँ टोखा नगरपालिका ४ का ७९ वर्षीय लोकबहादुर श्रेष्ठ, अमेरिका पठाउने भन्दै १० लाख ठगी गरेको आरोपमा टोखा ३ की ४१ वर्षीया तुलसा पुन मगर, यूएई पठाउने भन्दै १० लाख ठगी गरेको आरोपमा तानसेन नगरपालिका ७‚ पाल्पाका ४८ वर्षीय कृष्णप्रसाद पौडेल र सर्बिया पठाउने भन्दै ६ लाख ठगी गरेको आरोपमा चन्द्रागिरि नगरपालिका ११‚ काठमाडौँका २९ वर्षीय प्रवीण श्रेष्ठलाई समेत पक्राउ गरेको छ।