काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले चिया निर्यातमा देखिएको समस्या दीर्घकालीन रुपमै समाधान गर्न कूटनीतिक पहल भइरहेको बताएकी छन्।
प्रतिनिधिसभा बैठकमा बुधबार विभिन्न समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले चिया निर्यातमा देखिएको समस्या अहिलेका लागि समाधान भइसकेको बताइन्। उनले यसको दीर्घकालीन रुपमै समाधान गर्न कूटनीतिक पहल भइरहेको पनि दाबी गरिन्।
यसका लागि भारत सरकारलाई पत्राचार गरिएको, चिया व्यवसायीसँग छलफल गरिएको तथा भारतस्थती नेपाली दूतावासमार्फत निरन्तर समन्वय गरिरहेको उनको भनाइ छ।
उनले अहिले नेपालमा वार्षिक करिब दुई करोड ६१ लाख किलो चिया उत्पादन हुने गरेको र १८ जिल्लामा २० हजार ६ सय हेक्टरमा चिया खेती भइरहेको बताइन्।
आर्थिक वर्ष ०८१/८२ मा नेपालबाट चार अर्ब ५९ करोड रुपैयाँबराबरको चिया निर्यात भएकामा ८० देखि ९० प्रतिशत निर्यात भारततर्फ हुने गरेको उनले बताइन्।