काठमाडौँ। प्रत्येक अंग्रेजी महीनाको अन्तिम शुक्रवार नेपालयको ‘आर’सालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेँटीमा आगामी शुक्रबार गीतकार शिवशंकर थापाका गीति रचनाहरू प्रस्तुत हुने भएका छन्।
‘म त अक्षरको मान्छे हुँ, शिरदेखि पढ या पाउदेखि पढ’ बोलको गीतलाई पलेँटीका कण्ठ-शिल्पीले पहिलोपटक मञ्चमा प्रस्तुत गर्नेछन्। यसका साथै कार्यक्रममा संगीत कारहरूबलराम समाल, युवराज पोर्तेल, मणी बर्देवाले धुन भरेका रचनाहरू पनि प्रस्तुत हुने आयोजकले जनाएको छ।
आयोजकका अनुसार यसपालीको पलेँटीमा कण्ठ-शिल्पी अभिज्ञा घिमिरे र रुपक चौधरीले शिवशंकर थापाका सम्पूर्ण रचनाहरूलाई प्रस्तुत गरिनेछ।
पलेँटीका निम्ति काठमाडौं आइपुगेका गीतकार शिवशंकर थापा भन्छन्- ‘पलेँटीमा सहभागी हुन पहिलेदेखि नै अनुरोध भएको हो। स्वास्थ्यको प्रतिकूलताले गर्दा, बल्ल मौका जुर्यो। जीवनको उत्तरार्धमा यस कार्यक्रमसँग जोडिन पाउँदा खुशी लागेको छ। पलेँटीले श्रष्टाहरूलाई मञ्चमा उतारेर उच्चतम सम्मान गर्दै आएको छ। यो लहरमा मिसिन पाएकोमा आभारी छु।’
शिवशंकर थापा लामो समयदेखि झापाको विर्तामोडमा रहेर साहित्य साधना गरिरहेका शब्द-शिल्पी हुन्।
थापाका अधिकांश गीति रचनालाई गायक तथा संगीतकार दीप श्रेष्ठले धुन भरेर गाएका छन्। श्रेष्ठले धुन भरेका गीतहरू, ‘भन्थी मेरी उनी’, ‘विधुवाले सिन्दूरको रहर’, ‘म त आकाशको जून हुँ’, ‘मेरो आँखामा हरदम’ लामो समयदेखि उत्तिकै लोकप्रिय रहँदै आएका छन्। उल्लेखित गीतका साथै गीतकार थापाले रचेका गीतहरू, ‘हावासँगै बगुँ भन्छ’, ‘मेरो रहर ब्यूँझिएर’, ‘केही ल्याउन सकिनँ’, पनि उत्तिकै लोकप्रिय रहँदै आएका छन्। जसलाई संगीतकार सुवर्ण लिम्बू र प्रकाश गुरुङले धुन भरेका हुन्।
यसपालीको कार्यक्रमबारे पलेँटीका संयोजक आभास भन्छन्,’सानै उमेरदेखि म शिवदाइका शब्दको फ्यान हुँ ! उहाँसँग तीन दशक पहिले नै सांगीतिक संगत गरेको अनुभव समेत छ मसँग। त्यसलाई पलेँटीमार्फत् ताजा गराउन पाएकोमा औधी खुशी लागेको छ।’ पलेँटी कार्यक्रम यही मे महिनाको अन्तिम शुक्रबार; २९ तारिखका दिन आयोजना हुनेछ। कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा हुने यस कार्यक्रमको टिकेट पलेंटीको वेबसाइटमा प्रवेश गरेर अनलाइनबाट नै प्राप्त गर्न सकिने आयोजकले जनाएको छ।
‘आर’शालामा उपस्थित हुन असमर्थ संगीतप्रेमीका निम्ति अनलाइनबाटै प्रत्यक्ष हेर्ने व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ। पलेँटी कार्यक्रम २१ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु सांगीतिक कार्यक्रम हो।