काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१३ जेष्ठ २०८३
अ+
अ-

विराटनगर। कोसी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा संशोधन हाल्ने समय नदिइ पारित गरेको भन्दै विपक्षी दलका सांसदहरूले बुधबार प्रदेश सभा बैठक अवरुद्ध गरेका छन्।

प्रदेशसभाबाट मंगलबार पारित भएको नीति तथा कार्यक्रममा विपक्षीलाई संशोधन प्रस्ताव दर्ता गर्ने समय उपलब्ध नगराई ‘मिलेमतो’ मा पारित गरिएको उनीहरूको आरोप छ।

बुधबारको बैठक सुरु हुनासाथ सभामुख अम्बरबहादुर विष्टले नीति तथा कार्यक्रममा कुनै पनि संशोधन नआएको जानकारी गराउँदै जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेतालाई विशेष समयमा बोल्न अनुमति दिएका थिए। तर, विपक्षी सांसदहरूले प्रक्रियाप्रति असहमति जनाउँदै विरोध सुरु गरे।

सोही क्रममा पूर्वमुख्यमन्त्री एवं नेकपाका नेता राजेन्द्र राई रोस्ट्रमतर्फ उक्लिएर माइक समातेर बोल्न खोजेका थिए। उनले बोल्न खोज्दा मर्यादापालकले उनलाई घेरेर रोस्ट्रमबाट तल ओरालेका थिए। मर्यादापालक र सांसदबीच घम्साघम्सी भएपछि सदनको माहोल तनावपूर्ण बनेको थियो।

विपक्षी दलका सांसदहरूले प्रदेशसभा सचिवालयले संशोधनका लागि कुनै सूचना वा जानकारी नै जारी नगरेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन्। प्रक्रिया नै मिचेर नीति तथा कार्यक्रम पारित गरिनु लोकतान्त्रिक मूल्य मान्यताविपरीत भएको उनीहरूको तर्क छ।

विपक्षीको निरन्तर नाराबाजी र अवरोधका कारण सदनको अन्य कारबाही अगाडि बढ्न सकेको छैन। कोसी सरकारको नीति तथा कार्यक्रम मंगलबारको बैठकबाट पारित भइसकेको छ।