मानवअधिकार आयोगको प्रतिवेदन
काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगको सार्वजनिक प्रतिवेदनमा गत २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनमा भएको हिंसात्मक गतिविधिमा सुधन गुरुङ संलग्न रहेको देखाइएको छ।
सुरुमा शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलनमा पछि जोडिएका ‘हामी नेपाल’ संस्थाका अध्यक्ष गुरुङको समूहले भिडलाई उत्तेजित पारेको प्रतिवेदनको निष्कर्ष छ।
प्रतिवेदनको ‘तथ्य र विश्लेषण’ खण्डको प्रकरण ६ र ७ मा उल्लेख भएअनुसार २३ भदौको बिहान करिब १०:३० बजे अन्दाजी तीन हजारदेखि ३२ सय को संख्यामा प्रदर्शनकारी भेला भएका थिए। प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले तोकेको परिधिभित्रै सुरु भएको र्यालीले केही समयभित्रै उक्त निषेधित क्षेत्र तोडेको थियो। जसको नेतृत्व सुधन गुरुङले गरेको प्रतिवेदनमा औँल्याइएको हो।
बबरमहल र बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वरस्थित एभरेस्ट होटेल अगाडि पुग्दासम्म प्रदर्शनकारीको संख्या बढेर २०-२५ हजार पुगेको थियो। सोही समयमा कालो टिसर्ट लगाएका र शरीरमा टीओबी लेखिएको ट्याटु खोपेका १५-२० जनाको मोटरसाइकल समूह (बाइकर ग्रुप) ले भिडलाई अगाडि बढ्न थप उत्तेजित बनाएका थिए।
“प्रमुख जिल्ला अधिकारीले प्रदान गरेको अनुमतिको परिधिभित्र सुरु गरिएको र्याली केही समयभित्र नै सो परिधि र क्षेत्र नाघी बबरमहल, बिजुली बजार पुल हुँदै नयाँ बानेश्वरस्थित एभरेस्ट होटल अगाडि आइपुगेको, तत्पश्चात प्रदर्शनकारीहरूको संख्या बढेर २०/२५ हजारजना भएको, सोही समयमा टीओबी लेखिएका कालो टिर्सट लगाएका र हात तथा शरीरमा टीओबी लेखिएको ट्याटु खोपेका १५/२० जनाको बाइकर ग्रुपहरू आएर भिडलाई अगाडि बढ्न उत्तेजक बनाएको देखिन्छ‚” आयोगको प्रतिवेदनमा भनिएको छ, “एभरेस्ट होटेलअगाडि अन्दाजी २०/२५ हजार भिड जम्मा भइसकेपछि करिब १२ बजेको समयतिर हामी नेपाल संस्थाका सुधन गुरुङले भिडको नेतृत्व गरेको पाइन्छ। यसरी निज गुरुङले नेतृत्व लिएपश्चात प्रदर्शनकारीहरू आक्रोशित भई सुरक्षा ब्यारिकेड तोडी निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीसँग मुठभेड, झडप भइ हुलदंगामा परिणत भएको देखिन्छ।”
त्यसपछि भने आन्दोलन हिंसात्मक बन्न पुगेको आयोगले प्रतिवेदनमा देखाएको छ। त्यसपछि सुरक्षाकर्मीबाट अश्रु ग्यास र पानीको फोहोरा प्रयोग गरेको, साथै अश्रु ग्यासका कारण आक्रोशित भिडले बीआईसीसी १ नम्बर गेटअगाडि ढुंगामुढा सुरु गरी ‘एपीएफ वाटर क्यानन’ तोडफोड गरी वाटर क्याननको छतमा चढेको आयोगले देखाएको छ।
प्रतिवेदनलाई दराजमा थन्काउने गल्ती नगरियोस्, तत्काल दोषीमाथि कारबाही अघि बढाइयोस् : तनुजा पाण्डे‚ जेन-जी अगुवा
शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू किन‚ कसरी हिंसात्मक हुन पुगे भनी विश्लेषण गर्दा उक्त स्थानमा टीओबी लेखिएका कालो टि-सर्ट लगाएका र हात तथा शरीरमा टीओबी लेखिएको ट्याटु खोपेका १५/२० जनाको बाइकर ग्रुपको प्रवेशपश्चात माथि प्रकरण नम्बर ३ मा उल्लेख गरिएअनुसार विध्वंसात्मक कार्य गर्ने गराउने समूहले नवयुवा जेन-जीको शान्तिपूर्ण विरोध प्रदर्शनलाई कब्जा गरेको समेत औँल्याएको छ।
सुरुमा जेन-जीले सुरु गरेको शान्तिपूर्ण विरोध प्रदर्शन कसरी अचानक हिंसात्मक बन्यो भन्नेबारे आयोगले विस्तृत विश्लेषण गरेको छ। प्रतिवेदनका अनुसार टीओबी अंकित समूहको प्रवेशसँगै आन्दोलनलाई नियन्त्रणमा लिई (कब्जा गरी) विध्वंसात्मक दिशातिर मोडिएको देखाएको हो।
जेन-जी अगुवाले सुधनलाई गरेका थिए फर्कन आग्रह
२३ भदौको बिहान ९ बजेतिरै जेन-जी अगुवाहरूले सुधन गुरुङलाई देखेपछि उनीहरूबीच विवाद भएको प्रतिवेदनले खुलाएको छ। आन्दोलनको आह्वानकर्ता रक्षा बम, जस्मिन ओझालगायतको समूहले सुधन गुरुङलाई आन्दोलनबाट फिर्ता हुन आग्रह गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ।
गुरुङले आफ्नो संस्था हामी नेपालको तर्फबाट टेन्ट, स्वास्थ्य स्वयंसेवक, तीनवटा एम्बुलेन्स र माइकिङको व्यवस्था गरेर आएको देखेपछि आन्दोलन ‘हाइज्याक’ हुने आशंकामा रक्षा र जस्मिनको समूहले उनीसँग केही समय विवाद गर्दै फर्कन दबाब दिएका थिए।
हिंसात्मक र भिडलाई उत्तेजित बनाउन नेतृत्व गरेको कुरा खुलाएपछि पूर्वगृहमन्त्रीसमेत रहेका गुरुङलाई आयोगले सिधैँ कारबाहीको भने सिफारिस गरेको छैन। आयोगले कारबाही सिफारिस खण्डमा उनीहरूमाथि थप अनुसन्धान गर्नुपर्ने सिफारिस गरेको हो। आयोगका प्रवक्ता टीकाराम पोखरेलका अनुसार घटनामा मानवअधिकार उल्लंघनकर्तालाई कानुन बनाएर कारबाही गर्न सिफारिस गरिएको हो।
हामी नेपाल संस्थाका सुधन गुरुङलगायत अरू अंकित मल्ल, खेमराज साउद, सबल गौतम र पुरुषोत्तम यादवले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय‚ काठमाडौँमा निवेदन दर्ता गराएका थिए। तर छलफलका क्रममा उनीहरूले प्रदर्शन पूर्ण रूपमा शान्तिपूर्ण हुने प्रतिबद्धता जनाए पनि व्यवहारमा भने आन्दोलन हिंसात्मक र ध्वंसात्मक बन्न पुग्यो।
आयोगले आफ्नो प्रतिवेदनमा हिंसात्मक प्रदर्शनमा सुधनलगायत आयोजकहरूको स्पष्ट संलग्नता देखाए पनि उक्त रहस्यमयी टीओबी ग्रुपको वास्तविक पहिचान भने खुलाउन सकेको छैन। उक्त ग्रुपको आयोजकहरूसँग के कस्तो सम्बन्ध थियो र उनीहरू कसैद्वारा सञ्चालित थिए वा थिएनन् भन्ने विषयमा प्रतिवेदन मौन छ। आयोगले सुधन गुरुङलगायतमाथि थप अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको छ।
प्रतिवेदनको ‘सिफारिस खण्ड’ को बुँदा नम्बर ९ र १० अनुसार आयोगले सुधन गुरुङलगायतका व्यक्तिहरूमाथि तत्काल थप अनुसन्धान गर्न र दोषी देखिएमा कानुनबमोजिम कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।
पूर्वप्रधानमन्त्री सुशीला कार्कीसँगै ४९ जनामाथि कारबाही सिफारिस [नामसहित]
मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक भएपछि आन्दोलनको अगुवामध्येकी एक अभियन्ता तनुजा पाण्डेले यसलाई सकारात्मक कदमका रूपमा लिएकी छन्। संवैधानिक निकायले स्थलगत अध्ययन गरेर प्रतिवेदन ल्याउनु आफैँमा स्वागतयोग्य भएको उनको भनाइ छ। यसअघि गठन भएको ‘गौरीबहादुर कार्की आयोग’ को प्रतिवेदन र राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनका निष्कर्षहरू आपसमा बाझिएको उनले औँल्याएकी छन्।
“गौरीबहादुर आयोगको प्रतिवेदनमा नसमेटिएका धेरै विषयहरू मानवअधिकार आयोगको प्रतिवेदनमा आएका छन्। दुई फरक आयोगका सिफारिस र रायहरू केही हदसम्म बाझिएका पनि छन्,” पाण्डेले नेपालन्युजसँग भनिन्, “प्रतिवेदन आएको छ। त्यसमा थप अध्ययन गरेर सरकारले निष्पक्ष कारबाही प्रक्रिया अगाडि बढाउनुपर्छ।”
अभियन्ता पाण्डेले दोषी जोसुकै भए पनि कानुनी दायरामा आउनुपर्ने र राजनीतिक पहुँचका आधारमा कसैलाई उन्मुक्ति दिन नहुने कुरामा जोड दिइन्। सरकारले विगतका प्रतिवेदनहरू जस्तै यसलाई पनि थन्काएर राख्न नहुने उनको माग छ। “प्रतिवेदनले कसैको अनुहार हेरेर संरक्षण गर्ने काम नगरोस्। सरकारलाई हाम्रो एउटै आग्रह छ, यो प्रतिवेदनलाई दराजमा थन्काउने गल्ती नगरियोस्, तत्काल दोषीमाथि कारबाही अघि बढाइयोस्,” उनले भनिन्।
आयोगको प्रतिवेदन, हिंसात्मक गतिविधिमा उनको संलग्नताबारे हामी नेपालका अध्यक्ष, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वगृहमन्त्री सुधन गुरुङसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्। प्रतिवेदनको निष्कर्ष र सिफारिसका आधारबारे बुझ्न राष्ट्रिय मानवअधिकार आयोगका सम्बन्धित आयुक्त तथा छानबिन टोलीका सदस्यहरूलाई सम्पर्क गर्दा उनीहरू पनि सम्पर्कमा आएनन्।