काठमाडौँ। अदालतहरूमा लागु गरिएको ‘गोला प्रक्रिया’मार्फत पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि परिवर्तन गर्ने कुनै निर्णय नभएको सर्वोच्च अदालतले स्पष्ट पारेको छ। अदालतले बुधबार विज्ञप्तिमार्फत सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा गोला प्रक्रियाको विकल्प खोजिएको भन्ने आशयका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो।
सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा २०७८ सालमा जारी निर्देशिकाअनुसारै मुद्दाको पेसी व्यवस्थापन हुँदै आएको उल्लेख छ। ‘उक्त प्रक्रियामा पुनर्विचार गर्ने विषयमा हालसम्म कुनै औपचारिक छलफल वा निर्णय नभएको स्पष्ट गरिएको छ‚’ विज्ञप्तिमा भनिएको छ। अदालतले गोला प्रक्रियालाई परिवर्तन गर्ने सम्बन्धमा आधिकारिक रूपमा कुनै धारणा नबनेको पनि जनाएको छ।
सर्वोच्चले विभिन्न माध्यममा प्रकाशित तथा प्रसारित समाचार र व्यक्त गरिएका धारणा तथ्यमा आधारित नभएको ठहर गर्दै सम्बन्धित सबैलाई यथार्थ जानकारीका लागि विज्ञप्ति जारी गरिएको जनाएको छ।
