काठमाडौँ। कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष रोपाइँका लागि मलको अभाव नहुने दाबी गरेकी छन्।
प्रतिनिधिसभा बैठकमा बुधबार सांसदहरूले विभिन्न समयमा उठाएका प्रश्नको जवाफ दिँदै उनले अहिलेसम्मकै बढी परिमाणमा किसानलाई मल उपलब्ध गराइने बताइन्। उनले यस वर्ष मलको अभाव नहुने पनि दाबी गरिन्।
उनले चालु आवमा पाँच लाख ५४ हजार ७६२ टन रासायनिक मल आपूर्ति भइसकेको र जसमध्ये चार लाख ६३ हजार १०७ टन मल किसानलाई बिक्री गरिसकिएको जानकारी गराइन्। हाल गोदाम र नेपालमा आयात हुँदै गरेको मलसहित एक लाख ४४ हजार ५८५ टन रासायनिक मल मौज्दात रहेको उनको भनाइ छ।
मन्त्री चौधरीले चालु आर्थिक वर्षको असारसम्म लागत साझेदारीका आधारमा कुल पाँच लाख टन मल किसानलाई अनुदानमा उपलब्ध गराइने उल्लेख गरिन्।
मध्यपूर्वको द्वन्द्वका कारण मलको उत्पादन र आपूर्तिमा समस्या, मलको मूल्यमा उच्च वृद्धि भएको भन्दै मन्त्री चौधरीले चालु आव र आगामी आवमै बजेटबाट खर्च हुने गरी मल आपूर्तिका लागि सम्झौता भइसकेको जानकारी दिइन्।
उनले पर्याप्त रुपमा मलको आपूर्तिका लागि सम्झौता भएका कम्पनीहरुसंग ताकेता गरिरहेको बताइन्।
त्यस्तै मन्त्री चौधरीले आगामी आवमा करिब एक खर्बको काठ बेच्ने लक्ष्य रहेको पनि बताइन्। नेपाल काठमा पूर्ण आत्मनिर्भर हुने भन्दै नेपाली बजारको माग पूरा गरेर मात्रै काठ निर्यात गरिने उनको भनाइ छ।