काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१३ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले किसानले पर्याप्त मल पाउने गरी तत्काल आवश्यक मल खरिद प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकमा सांसदहरूले कुनै बहानामा किसानलाई मलको अभाव हुन नहुने धारणा राखेपछि समितिले किसानको मागबमोजिम १५ असारअगावै पर्याप्त मलको व्यवस्था हुने गरी तयारी गर्न सरकारको ध्यानाकर्षण गराएको हो।

समिति सभापति अशोककुमार चौधरीले किसानलाई सहज रूपमा मल उपलब्ध गराउन कृषि सामग्री कम्पनी लिमिटेडले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए। उनले मल आपूर्ति तथा अनुगमन उपसमिति गठन गरी मल आपूर्तिका लागि सहजीकरण गर्ने उल्लेख गरे। पर्याप्त बजेटको व्यवस्था गरेर भए पनि असारभित्र मल आपूर्ति गर्नुपर्ने उनको भनाइ छ।

बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले मल खरिद तथा वितरणमा सरकारी निकाय पारदर्शी रहेको बताए। उनले मन्त्रालय मातहतका गोदामहरूको अनुगमन गरी मलका विषयमा देखिएका समस्या समाधानका लागि भूमिका खेल्न समितिलाई आग्रह गरे। उनले सिंहदरबारबाट मलको कोटा निर्धारण गरेर सम्भव नहुने भन्दै यसका लागि स्थानीय तहलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिए।

त्यस्तै बैठकमा कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले सार्वजनिक खरिद नियमावलीमा भएको व्यवस्थाअनुसार मल खरिद प्रक्रियामा धेरै समय लाग्ने गरेकाले मल आपूर्ति गर्न कठिनाइ भएको बताए।

उनले मलखाद बफर स्टकका रूपमा भण्डारण गर्न बजेटको अभाव रहेको गुनासो गरे। समिति सदस्यहरूले रासायनिक मलको विकल्पको खोजीमा लाग्नुपर्ने सुझाव दिएका थिए।