भोजपुर। भोजपुरको उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र दिङ्लासँग जोड्ने ‘भोजपुर–दिङ्ला’ सडकखण्डमा कालोपत्र सुरु गरिएको छ।
सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण तीव्र गतिमा अघि बढाइएको पूर्वाधार विकास कार्यालय जनाएको छ।
कार्यालय प्रमुख राजनराज रेड्डीले पहिलो खण्डअन्तर्गत पानीट्याङ्की–तीनतलेसम्मको करिब १७ किलोमिटर सडकमा कालोपत्र थालनी गरिएको बताए। हालसम्म यस सडकको भौतिक प्रगति करिब ५५ प्रतिशत पुगेको छ।
पहिलो खण्डको निर्माणको काम कोशी प्रदेश सरकारको करिब ६२ करोडको लगानीमा भइरहेको छ। निर्माण सम्झौताअनुसार आगामी फागुन महिनासम्म सम्पूर्ण कार्य सम्पन्न गर्नु पर्नेछ।
‘भोजपुर–दिङ्ला सडकको पहिलो खण्डमा कालोपत्रको काम सुरु भएको छ’, प्रमुख रेड्डीले भने, ‘गुणस्तरलाई ध्यानमा राख्दै तोकिएको समयमै काम सम्पन्न गर्न कार्यालयले नियमित अनुगमन तथा सहजीकरण गरिरहेको छ।’ दोस्रो खण्डअन्तर्गत तीनतले–दिङ्ला करिब १६.५ किलोमिटर सडकखण्ड निर्माण कार्य पनि भइरहेको छ।
वर्षायाममा हिलो र हिउँदमा अत्यधिक धुलोका कारण सवारी आवतजावत कठिन हुँदा बिरामी ओसारपसार, कृषिउपज ढुवानी तथा दैनिक जनजीवन प्रभावित हुने गरेको थियो। स्थानीय भीमप्रसाद राईले सडक कालोपत्र सुरु भएपछि धुलो र हिलोको समस्या अन्त्य भएको बताए।
निर्माण कम्पनीका प्रमुख श्याम श्रेष्ठले बर्सातले असर नगरेमा सम्झौता अवधिअघि नै सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए।
२०८० साल मङ्सिर महिनाबाट सडक निर्माण सुरु गरिएको हो। यो सडक आयोजना सम्पन्न भएपछि जिल्लाको उत्तरी क्षेत्रको आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकास टेवा पुग्ने स्थानीयवासीको भनाइ छ।