काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१४ जेष्ठ २०८३
अ+
अ-

नैरोबी। केन्याको राजधानी नैरोबीबाट करिब १२० किलोमिटर पश्चिममा पर्ने गिलगिलस्थित एक बोर्डिङ स्कुलमा आगलागी भएको छ। आगलागीमा १६ विद्यार्थीको मृत्यु भएको छ। ७४ जना घाइते भएको बीबीसीले समाचारमा उल्लेख गरेको छ।

घटनास्थलमा रहेका एक प्रहरी अधिकारीका अनुसार उक्त दुर्घटनामा घाइते भएका विद्यार्थीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। केन्या रेडक्रस र प्रहरीका अनुसार ‘उतुमिसी गर्ल्स स्कुल’मा बिहीबार बिहान सबेरै विद्यार्थी सुतिरहेको समयमा आगलागी भएको हो।

प्रहरीले उद्धार तथा राहतमा जुटेको छ। आगलागीको कारण भने खुल्न सकेको छैन। केन्या रेडक्रसले आपतकालीन सहायता टोली घटनास्थलमै परिचालन गरी प्रभावितलाई आवश्यक सहयोग उपलब्ध गराइरहेको जनाएको छ।

प्रहरी कमान्डर मसूद म्विनीले स्कुलबाहिर भेला भएका अभिभावक तथा स्थानीयलाई सम्बोधन गर्दै यो घटना अत्यन्त दुःखद र पीडादायी रहेको बताएका छन्।

केन्याका बोर्डिङ स्कुलहरूमा यस्ता आगलागीका घटना असामान्य भने होइनन्। पछिल्ला वर्षमा यस्ता घातक दुर्घटना बारम्बार दोहोरिँदै आएका छन्। छात्रावासमा अत्यधिक विद्यार्थी संख्या हुनु र सुरक्षा मापदण्डको पर्याप्त पालना नहुनु यस्ता घटनामा ठूलो क्षतिको प्रमुख कारण मानिन्छ।