फोटो कथा
काठमाडौँ। ‘महिनावारीमैत्री समाजका लागि सहकार्य’ भन्ने नारासहित विश्वभर मनाइने महिनावारी स्वच्छता दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरेर मनाइएको छ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा वक्ताहरूले महिनावारीसम्बन्धी जागरुकता अभिवृद्धि, समावेशिता र समानता प्रवर्द्धन, महिला तथा किशोरीको सशक्तीकरण र नीतिगत वकालतमा जोड दिएका छन्। कार्यक्रममा महिनावारीलाई अझै पनि सामाजिक विभेदका रूपमा हेरिने प्रवृत्ति अन्त्य गर्न सरोकारवालाबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।
हरेक वर्ष २८ मेमा मनाइने यस दिवस सन् २०१४ देखि विश्वभर सुरु भएको हो भने नेपालमा पनि सोही वर्षदेखि औपचारिक रूपमा मनाउन थालिएको हो। दिवसको अवसरमा विभिन्न संघसंस्थाले सचेतनामूलक कार्यक्रम, अन्तर्क्रिया तथा अभियान सञ्चालन गरेका छन्।
महिनावारी स्वच्छता दिवसले सुरक्षित, सम्मानजनक र पहुँचयुक्त महिनावारी व्यवस्थापन सुनिश्चित गर्न आवश्यक नीति, पूर्वाधार र व्यवहार परिवर्तनका विषयमा व्यापक बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।

