सुर्खेत। सुर्खेतमा टिपरको ठक्करबाट घाइते भएका पैदलयात्री कमल वलीको उपचारका क्रममा मृत्यु भएको छ।
भेरीगंगा नगरपालिका २‚ सुर्खेत कालापानीका २३ वर्षीय वलीको आज (बिहीबार) उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रहरीका अनुसार कालापानी खोलाबाट सत्तरी भन्ने ठाउँतर्फ जाँदै गरेको क.प्र. ०२-००१ ख ०६४७ नम्बरको टिपरले पैदलयात्री वलीलाई बुधबार राति ठक्कर दिएपछि घाइतेका बुबा दलबहादुर वलीले उपचारका लागि राति नै कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याएका थिए।
उपचारका क्रममा आज (बिहीबार) प्रदेश अस्पताल सुर्खेतले वलीलाई मृतघोषणा गरेको छ। टिपर चालक वीरेन्द्रनगर नगरपालिका १०‚ सुर्खेतका ५२ वर्षीय मानबहादुर चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।