मन्त्रालयले सात पृष्ठ लामो ‘ट्रम्स अफ रिफरेन्स एम्बेस्डर अफ नेपाल’ (राजदूतको कार्यविवरण तथा सर्तहरू) जारी गर्दै योग्य र दक्ष नेपाली नागरिकबाट दरखास्त माग गरेको हो।
मन्त्रालयले भारत, चीन र अमेरिकाजस्ता सामरिक महत्त्वका मुलुकसहित रिक्त रहेका १३ देशमा राजदूत नियुक्तिका लागि आवेदन खुलाएको हो।
इच्छुक र योग्य उम्मेदवारहरूले २०८३ जेठ २२ गतेसम्म आवेदन दिन सक्ने गरी समयसीमा तोकिएको छ। कूटनीतिक नियुक्तिलाई थप पारदर्शी र योग्यतामा आधारित बनाउन सरकारले यो नयाँ अभ्यास अघि बढाएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयद्वारा जारी सूचनाअनुसार राजदूत पदका लागि १५ वटा न्यूनतम योग्यता र मापदण्ड निर्धारण गरिएका छन्। आवेदन दिने व्यक्ति कम्तीमा ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्नेछ भने नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने अनिवार्य सर्त राखिएको छ।
राजदूत बन्नका लागि नैतिक चरित्र र कूटनीतिक ज्ञानलाई विशेष प्राथमिकता दिइएको छ। भ्रष्टाचार वा नैतिक पतनसँग सम्बन्धित कुनै पनि फौजदारी अपराधमा अदालतबाट दोषी ठहर भएको व्यक्ति आवेदनका लागि अयोग्य हुनेछन्।
यस्तै, सरकारी सेवाबाट बर्खास्त गरिएका वा भविष्यमा सरकारी सेवाका लागि अयोग्य घोषित गरिएका व्यक्तिले पनि आवेदन दिन पाउने छैनन्।
मन्त्रालयले विदेशी मुलुकको स्थायी वा अस्थायी बसोबास अनुमतिपत्र (पीआर/डीभी) वा अध्यागमन लाभ प्राप्त गरेका व्यक्तिहरूलाई यो प्रक्रियाबाट पूर्ण रूपमा वञ्चित गरेको छ।
यस्तै, अन्तर्राष्ट्रिय वा विदेशी सहायताद्वारा सञ्चालित गैर-सरकारी संस्थामा हाल कार्यरत व्यक्तिहरूले पनि राजदूतका लागि दाबी गर्न पाउने छैनन्।
कूटनीतिक दक्षताको सन्दर्भमा आवेदकमा नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र द्विपक्षीय तथा बहुपक्षीय कूटनीतिमा गहिरो अनुभव हुनुपर्ने मन्त्रालयले जनाएको छ।
अंग्रेजी भाषामा पोख्त हुनुपर्ने र पदस्थापना हुने देशको आधिकारिक भाषाको ज्ञान भएमा त्यस्ता उम्मेदवारलाई थप प्राथमिकता दिइनेछ।
नयाँ मापदण्डअनुसार आवेदकमा कुनै पनि प्रकारको ‘स्वार्थको द्वन्द्व’ (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) हुनुहुँदैन। यदि कुनै व्यक्ति पहिले विदेशी राज्यद्वारा तलब पाउने पदमा नियुक्त भएको थियो भने, सो भूमिका छोडेको कम्तीमा १० वर्ष पूरा भएको हुनुपर्ने सर्त राखिएको छ।
साथै, आवेदकले कूटनीतिक र कन्सुलर सम्बन्धसम्बन्धी भियना महासन्धि तथा अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यासहरूको पूर्ण ज्ञान राख्नुपर्नेछ।
उच्च नैतिक चरित्र भएका, कठिन परिस्थितिमा पनि काम गर्न सक्ने र नेपाल सरकार वा कुनै पनि अन्तर्राष्ट्रिय निकायको कालोसूचीमा नपरेका व्यक्तिहरूले मात्र यस अवसरका लागि प्रतिस्पर्धा गर्न पाउनेछन्।