काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटको प्रस्तुति शैली र भाषाशैलीलाई नयाँ तथा आकर्षक भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले गोरखाको गाउँमा बसेर अर्थमन्त्रीको बजेट भाषण सुन्दा आफूलाई “रोमाञ्चक अनुभूति” भएको उल्लेख गरेका हुन्।
भट्टराईले बजेटमा प्रयोग गरिएको शब्द चयन र प्रस्तुति शैली फरक रहेको टिप्पणी गर्दै नीति तहमा प्रविधिमैत्री नयाँ पुस्ता, निजी क्षेत्र, विदेशमा रहेका नेपाली तथा कर्मचारी वर्गलाई आकर्षित गर्ने प्रयास गरिएको बताए।
उनले बूढीगण्डकी जलविद्युत् आयोजना अधिकारसम्पन्न प्राधिकरणमार्फत निर्माण गर्ने सरकारी घोषणा सकारात्मक कदम भएको प्रतिक्रिया दिए। उक्त मोडालिटी आफूले सुरुदेखि नै प्रस्ताव गरेको स्मरण गराउँदै लामो अन्योलपछि सरकार त्यसतर्फ उन्मुख भएकोमा केही सन्तोष लागेको उल्लेख गरे।
यद्यपि बजेटको समग्र संरचनात्मक पक्षमा भने उनले प्रश्न उठाएका छन्। आय–व्ययको सन्तुलन, राजस्वका स्रोत, क्षेत्रगत विनियोजन तथा वित्तीय संघीयताको ढाँचामा अपेक्षित परिवर्तन नदेखिएको उनको भनाइ छ।
भट्टराईले बजेट वक्तव्यमा उल्लेख गरिएका संरचनात्मक सुधारका योजनाहरू कसरी कार्यान्वयन हुन्छन् भन्नेमा आशंका व्यक्त गर्दै निरन्तरताभन्दा फरक खालको स्पष्ट क्रमभंगता नदेखिएको टिप्पणी गरेका छन्। त्यससँगै उनले बजेट सफल कार्यान्वयनका लागि शुभकामना पनि दिएका छन्।