काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१५ जेष्ठ २०८३
वर्षमान पुन।
अ+
अ-

काठमाडौँ। पूर्वअर्थमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले अर्थमन्त्री स्वर्णिम वाग्लेद्वारा आगामी आवका लागि संघीय संसद्‌मा शुक्रबार प्रस्तुत बजेटले तल्लो वर्गलाई उपेक्षा गरेको प्रतिक्रिया दिएका छन्।

बजेट सार्वजनिक भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले किसान, मजदुर, नवयुवा, तल्लो वर्ग र सुकुम्बासीका लागि बजेटमा आशालाग्दा कार्यक्रम समावेश नगरिएको टिप्पणी गरे। बजेटमा राज्यका तर्फबाट रोजगारी सिर्जना गर्ने विषयलाई उपेक्षा गरिएको उनको भनाइ थियो।

“समग्रमा मध्यम वर्गकेन्द्रित बजेट आएको छ। तत्लो वर्गका लागि लक्षित कार्यक्रम छैनन्,” पुनले भने, “मजदुर, किसान, बेरोजगार नवयुवा र सुकुम्बासीहरूका लागि कुनै सम्बोधन गरिएन। रोजगारी सिर्जना गर्ने वा स्वरोजगार बनाउने कार्यक्रम नै छैनन्। रोजगारी दिने जिम्मेवारी सबै निजी क्षेत्रको हो भनेर पन्छिन खोजेजस्तो देखिन्छ।”

उनले नेपाल टेलिकम र नेपाल वायुसेवाजस्ता नाफामा सञ्चालित सार्वजनिक संस्थानलाई निजीकरण गर्ने नीति लिएकामा आलोचना गरे। “नाफामा चलिरहेका कम्पनीको सेयर बिक्री गर्ने भनेको निजीकरणतिर लानु हो, यो ठीक छैन,” उनले भने।

सरकार नेतृत्वकर्ता रास्वपाले पुराना दलमाथि मुलुकलाई ऋणको पासोमा पारेको आरोप लगाउँदै आएको भन्दै बजेटको स्रोतका रूपमा आन्तरिक र वैदेशिक ऋण लिने विषय उल्लेख रहेको बताए। अर्थमन्त्री चार खर्ब आन्तरिक र दुई खर्बभन्दा बढी वैदेशिक ऋणबाट स्रोत जुटाउने योजनामा रहेको उनको भनाइ थियो।

२१ खर्ब २४ अर्बको बजेट सार्वजनिक [पूर्ण पाठ]

“रास्वपाका साथीहरू स्थापित पार्टीहरूले ऋण बढी लिएर देश डुबाए, जनताको टाउकोमा ऋणको भारी थपे भन्नुहुन्थ्यो,” पुनले भने, “अर्थमन्त्रीले खर्ब ११ अर्ब आन्तरिक र दुई खर्बभन्दा बढी बाह्य ऋण लिने कुरा गर्नुभएको छ।”

पुनले आफूले आव ०८०/८१ को बजेटमा समावेश गरेका गण्डकी त्रिभूजलाई चतुर्भूज, कर्णालीलाई जडीबुटीको हब बनाउने भनेकामा कर्णाली चतुर्भूज तथा सुदूरपश्चिमलाई धार्मिक पर्यटन हब बनाउने योजनालाई धार्मिक चतुर्भूज नामकरण गरी बजेटमा ल्याएकामा धन्यवाद दिए।