काठमाडौँ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को हुप्सेकोटमा रहेको फलाम खानी सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गरिने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट प्रस्तुत गर्दै हुप्सेकोटमा रहेको फलाम खानीलाई सार्वजनिक निजी साझेदारीमा मोडलमा सञ्चालन गरिने बताएका हुन्।
“धौवादी फलामखानीमा रहेको सरकारको सेयर अंश घटाई सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गर्ने कार्य अगाडि बढाउनेछौँ”, उनले भने । सिँचाइ पूर्वाधार विकासतर्फ नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदीमा नारायणी सिँचाइ आयोजना पुन:स्थापनाका लागि बजेट विनियोजन गरेको अर्थमन्त्री डा वाग्लेले जानकारी दिए।
“नारायणी, गण्डक, कोशी पम्पलगायत सिँचाइ प्रणालीको मर्मतसम्भार तथा पुन:स्थापनाका लागि रु. ४४ करोड विनियोजन गरेको छु”, उनले भने । सुस्तगतिमा विस्तार भइरहेको नारायणघाट-बुटवल सडक खण्ड आगामी आवमा सम्पन्न हुने उनले बताए । “पूर्वपश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्ड र पृथ्वी राजमार्गको मुग्लिन-दमौली-पोखरा खण्ड शीघ्र सम्पन्न गर्नेछौँ”, उनले भने ।
नवलपुरको त्रिवेणीधाम-देवघाट, रुरु क्षेत्र-कागबेनी, मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत गर्दै शालिग्राम पथ विकास गर्ने अर्थमन्त्री डा. वाग्लेले जानकारी दिए ।