काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१६ जेष्ठ २०८३
गगनकुमार थापा।
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले न्यून आय भएका व्यक्तिहरूप्रति सरकारको ठूलो उदासीनता देखिएको बताएका छन्।

पार्टी कार्यालय सानेपामा नेपाल थारू संघको प्रथम महाधिवेशनको शनिबार उद्घाटन गर्दै उनले सरकारले ल्याएको बजेटमा कतिपय राम्रा कुरा समावेश भए पनि न्यून आय भएका व्यक्तिप्रति ठूलो उदासीनता देखिएको बताए।

वर्तमान सरकारले मुलुकबाट गरिबी हटाउने नाममा गरिबमाथि नै विभेद गर्न खाजेको भन्दै उनले गरिबी र गरिब दुईटा फरक कुरा हो भन्ने मेसो सरकारले पाउन नसकेको धारणा राखे। सभापति थापाले बजेटमा संरचनागत सुधारका लागि थुप्रै सकारात्मक कुरा अघि सारेकाले त्यसलाई स्वागत गर्दै आवश्यक कानुन निर्माणमा मद्दत गर्ने उल्लेख गरे।

उनले प्रतिपक्षको जिम्मेवारी सानो जिम्मेवारी नभएको भन्दै सरकारलाई सजक गराउँदै जनताको मुद्दा स्थापित गर्न गम्भीर भएर भूमिका निर्वाह गर्नुपर्ने बताए। यसका लागि सबैभन्दा पहिला निर्वाचन हार्यौं, सत्ता सञ्चालन गर्ने जिम्मेवारी प्राप्त गरेनौँ भन्ने मनोदशाबाट बाहिर निस्कनुपर्ने उनको भनाइ छ। सभापति थापाले आगामी निर्वाचनमा कम्तीमा पनि १०० वटा पालिकामा कांग्रेस पार्टीको तर्फबाट मेयर वा अध्यक्षको उम्मेदवार महिला बनाउने कोसिस भइरहेको बताए।

स्थानीय तहको निर्वाचनमा लड्न चाहने इच्छा भएकाहरूले पार्टीको लिडरसिप एकेडेमीमा भर्ना हुनुपर्ने र आफूलाई योग्य साबित गर्नुपर्ने उनले बताए।

कार्यक्रममा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सत्ताप्राप्तिका लागि कांग्रेस आफ्नो पहिचान भुलेर अर्काको इशारामा हिँड्न खोज्दा आफ्नो चाल बिर्सिएको धारणा राखे। कांग्रेस एकताबद्ध भएर अघि बढ्ने संकल्प गर्नुपर्ने उनले बताए। उनले पार्टी र संसद् एउटै भन्ने बिर्सिएको कांग्रेसलाई अब पार्टी र संसद् एउटै बाटोबाट हिँडाउने प्रयास आफुहरूले गरिरहेको धारणा राखे।

उनले पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थालाई बलियो बनाउँदै कांग्रेसलाई पहिलेकै अवस्थामा ल्याउनेसमेत बताए।