ललितपुर। पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पत्रकारहरूले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्ने बताएका छन्।
नेपाल पत्रकार महासङ्घ ललितपुरको २५औँ वार्षिक साधारणसभामा उनले पत्रकारिता र सुशासनको मूल्यमान्यतालाई केन्द्रविन्दुमा राखेर जिम्मेवारीपूर्वक पत्रकारिता गर्न आग्रहसमेत गरे।
उनले भने, “हरेक पेसामा पेसागत मर्यादा र नैतिकताको धरातल महत्त्वपूर्ण हुन्छ। पत्रकारिताको लेखाइ र बोलाइको तागतबाट परिवर्तन हुन्छ भन्नेमा हामी प्रस्ट छौँ। त्यसैले पत्रकारले घृणा र द्वेष फैल्याउनु हुँदैन। कलमको शक्तिलाई समृद्ध र समुन्नत नेपालका लागि उपयोग गर्नुपर्छ।”
कार्यक्रममा ललितपुर पत्रकारिता पुस्तकसमेत विमोचन गर्दै उनले शब्दसँग अथाह शक्ति हुने भएकाले पत्रकारितामा त्यसको प्रयोग सही ढङ्गले हुनुपर्ने बताए। “सनसनी फैल्याउने नाममा शब्द र सन्दर्भको गलत प्रयोग भएमा त्यसले ठूलो क्षति गर्छ। त्यसैले पेसागत मूल्यमान्यताको पालना गर्दै पत्रकारिताको धर्म निर्वाह गर्न आवश्यक छ‚” पूर्वप्रधानन्यायाधीश राउतको भनाइ थियो।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष नीतु पण्डितले पत्रकार र पत्रकारितामाथि प्रश्न उठिरहेको अवस्थामा जिम्मेवारीपूर्वक अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याइन्।
बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवतीप्रसाद सापकोटाले ग्रामीण क्षेत्रका महत्त्वपूर्ण समाचार पनि उजागर हुन नसकेको भन्दै पत्रकारले सबै क्षेत्रका सवालको प्रतिनिधित्व हुने गरी स्वनियमन र विवेकपूर्वक पत्रकारिता गर्नुपर्नेमा जोड दिए। उनले परम्परागत सञ्चारमाध्यम आर्थिक सङ्कटमा रहेको अवस्थामा सूचना प्रविधिमा नै आधारित रहेर संरक्षण र प्रवर्द्धनमा लाग्नुपर्नेमा जोड दिए।
कार्यक्रममा महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष शोभा अर्याल, भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकार, नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीलगायतले आफ्नो धारणा राखेका थिए। कार्यक्रममा सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कारबाट राजधानी दैनिकका सम्पादक डिल्ली आचार्यलाई सम्मान गरिएको थियो।