काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१६ जेष्ठ २०८३
अ+
अ-

काठमाडाैं। सरकारले कृषि तथा पशुजन्य उद्यम गर्न इच्छुक एक हजार युवा उद्यमीलाई स्टार्टअप सुविधा उपलब्ध गराउने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो व्यवस्था सार्वजनिक गरिएको हो।

यस कार्यक्रमअन्तर्गत युवाले अधिकतम २५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण प्राप्त गर्न सक्नेछन्। हाल सरकारले स्टार्टअप प्रवर्द्धनका लागि सहुलियत ब्याजदरमा यस्तो ऋण उपलब्ध गराउँदै आएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा नवउद्यम, नवप्रवर्तन र उद्यमशीलतालाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अघि सारिएको छ। बजेटअनुसार नवउद्यमलाई सिप, बजार, वित्तीय पहुँच र प्रविधिसँग जोड्दै प्रभावकारी उद्यम वातावरण बनाइनेछ।

यसका साथै स्टार्टअप तथा साना–मझौला उद्यमलाई राष्ट्रिय उद्यम इकोसिस्टममा समेट्न ‘नेपाल इन्टरप्राइज फसिलिटी’ स्थापना गरिने भएको छ। उक्त प्लेटफर्ममार्फत नीतिगत सहजीकरण, नवप्रवर्तन वित्तीय उपकरणको पहुँच, इन्क्युबेसन सहयोग र उद्यम प्रवर्द्धनका कार्यक्रमहरू एकीकृत रूपमा सञ्चालन गरिनेछ।

सरकारले नवउद्यमलाई नाफासँग आबद्ध कर सहुलियत, सार्वजनिक खरिदमा प्राथमिकता, डिजिटल दर्ता प्रणाली र नियामकीय सहजीकरणमार्फत थप सहज बनाउने योजना पनि अघि सारेको छ।

यस्तै, युवा वैज्ञानिकलाई स्वदेशमै अनुसन्धान गर्ने अवसर उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिनेछ। खगोलीय पर्यटन प्रवर्द्धनका लागि सगरमाथा आधार शिविरमा ‘अब्जर्भेटरी केन्द्र’ स्थापना गर्ने योजना पनि बजेटमा समेटिएको छ।