काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१६ जेष्ठ २०८३
अ+
अ-

भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ कोटमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको छ। यसअघि सामान्य उपचारका लागि समेत टाढा–टाढा धाउनुपर्ने बाध्यता थियो।

वडाध्यक्ष सूर्यप्रसाद नेपालले नागरिकलाई उपलब्ध गराइने सेवाको दायरा थप विस्तार गर्ने उद्देश्यले प्रसूति केन्द्र सञ्चालनको तयारी गरिएको बताए। प्रशुति सेवा सञ्चालनमा आएपछि नागरिकलाई स्वास्थ्य सेवा लिन थप सहजता हुने उनको भनाइ छ।

“चालु आर्थिक वर्षभित्रै प्रसूति सेवा सुरु गर्ने लक्ष्य राखेका छौँ,” वडाध्यक्ष नेपालले भने, “यसले विशेष गरी गर्भवतीलाई राहत पाइने छ।”

भौगोलिक रूपमा विकट मानिने कोट क्षेत्रमा स्वास्थ्य भवन निर्माण गरी नियमित सेवा प्रवाह सुरु भएपछि स्थानीयमा उत्साह थपिएको छ। विगतमा सामान्य उपचारका लागि पनि बिरामीलाई स्टेचर वा डोकोमा बोकेर जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता थियो। अहिले गाउँमै उपचार सेवा उपलब्ध भएपछि त्यो समस्या हटेको छ।

स्वास्थ्य सेवा केन्द्र सञ्चालनसँगै अब गाउँमै सुरक्षित मातृत्व, खोप सेवा, नियमित स्वास्थ्य परीक्षण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सहज भएको स्वाथ्य केन्द्रकी अनमी सम्झना खड्काले बताए।

यसले दीर्घकालीन रूपमा मातृ–शिशु मृत्यु दर कम गर्न, रोग नियन्त्रण तथा स्वस्थ समुदाय निर्माणमा मद्दत पुग्ने उनको भनाइ छ। स्थानीय प्रेमकुमारी श्रेष्ठले गाउँमै स्वास्थ्य सेवा पाउँदा दैनिक जीवन सहज बनेको बताइन्।