काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१७ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले श्रीलंकालाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ।

भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरु रङ्गशालामा आइतबार सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकामाथि २–० गोलको जित निकाल्यो। नेपाल समूह ‘बी’को शीर्ष स्थानमा रह्यो।

नेपालका लागि रश्मीकुमारी घिसिङ र रेनुका नगरकोटीले एक/एक गोल गरे। रश्मीले खेलको पहिलो हाफमा र रेनुकाले दोस्रो हाफमा गोल थपिन्।

खेलको पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टी एरियाभित्र रेखा पौडेलले दिएको पासलाई सदुपयोग गर्दै रश्मीले गोल गरेकी थिइन्। त्यस्तै खेलको ६०औँ मिनेटमा रेनुकाले गोल गरिन्। उनले पेनाल्टी एरिया बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो।

दुई खेल खेलेको नेपाल शतप्रतिशत नतिजा निकाल्दै ६ अंकका साथ समूह विजेता बनेको हो। नेपालले समूह चरणको पहिलो खेलमा भुटानलाई १–० गोलअन्तरले पराजित गरेको थियो।

त्यसैगरी समूह ‘बी’बाट भुटान उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको छ। भुटानले तीन अंक बटुल्दै समूह चरणको उपविजेता बन्दै सेमिफाइनल पुगेको हो।

अहिले जारी भारत र बाङ्लादेशको खेलले नेपालले सेमिफाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ। हारसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ।