काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१७ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ । अमेरिकी सार्वजनिक कूटनीति सम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्स दक्षिण तथा मध्य एसिया भ्रमणअन्तर्गत भारतको भ्रमण सम्पन्न गरी काठमाडौं आइपुगेकी छन् । उनी अमेरिका–नेपाल दूतावासले आयोजना गरेको ‘एसेन्ट समिट’मा सहभागी हुन नेपाल आएकी हुन्।

आज काठमाडौंमा आयोजित उक्त कार्यक्रममा बोल्दै उपविदेशमन्त्री रोजर्सले नेपाल र अमेरिकाबीच पर्वतारोहण, पर्यटन र नवप्रवर्तनमा आधारित साझेदारी थप बलियो बन्दै गएको बताइन्।

उनले हिमालयले दुई देशलाई विशेष रूपमा जोडेको उल्लेख गर्दै साहस, अन्वेषण र सहकार्यले सम्बन्धलाई अझ गहिरो बनाएको धारणा राखिन्।

कार्यक्रममा हिमाली क्षेत्रका विभिन्न व्यक्तित्व, पर्वतारोही, सांसद तथा सरोकारवाला पक्षहरूको उपस्थिति रहेको थियो । सन् २०२५ मा १ लाख १२ हजार अमेरिकी पर्यटक नेपाल आएको उल्लेख गर्दै उनले अमेरिकी पर्यटकहरूले नेपालको पर्यटन तथा स्थानीय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताइन्।

रोजर्सले अमेरिका आगामी दिनमा पनि नवप्रवर्तन, प्रविधि र उद्यमशीलताको क्षेत्रमा नेपालको विश्वासिलो साझेदार रहने प्रतिबद्धता व्यक्त गरिन्।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि नेपाल भ्रमण गर्ने उनी हालसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन् । साथै, गत १३ चैतमा सरकार गठनयता नेपाल भ्रमण गर्ने उनी तेस्रो वरिष्ठ अमेरिकी अधिकारी पनि हुन् ।