काठमाडौं। एसियाली खेलकुद छनोटअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले चीनविरुद्ध सानदार जित निकालेको छ।
आज (आइतबार) बिहान सिंगापुरको सिंगापुर नेसनल क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले चीनविरुद्ध २ सय २१ रनको फराकिलो जित निकालेको हो।
नेपालले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा ९२ रनमा अलआउट भयो।
चीनकालागि झेङ्ग शेन्जियानले सर्वाधिक ३१ रनको योगदान दिए। यस्तै, जियानहाओ डुले १७ र कप्तान तियान सेनकुनले १२ रन जोडे। अन्य ब्याटरले भने दोहोरो अंकमा रन पनि जोड्न सकेनन्।
नेपालकालागि कुशल मल्लले ३ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान २-२ विकेट लिए भने नन्दन यादवले भने १ विकेट लिए ।
त्यसअघि, ब्याटिङ गरेको नेपालको लागि कुशल भुर्तेलको शतकको मद्दतमा निर्धारित २० ओभरमा २ विकेट गुमाएर ३१३ रनको योगफल तयार पारेको थियो।
नेपालकालागि कुशल भुर्तेलले १२९ रनको योगदान दिए । भुर्तेलले ४३ बलमा ५ चौका र १६ छक्का प्रहार गरे। यस्तै, कुशल मल्ल ८५ र रोहितकुमार पौडेल ६९ रनमा अविजित रहे । मल्लले ४७ बलमा ८ चौका र ५ छक्का प्रहार गरे । २१ बल खेलेका रोहितले ५ चौका र ७ छक्का प्रहार गरे।
आसिफ शेखले भने १० बलमा ११ रन जोडे । नेपालले टी-२० आईमा तयार पारेको यो दोस्रो ठूलो योगफल हो।
चीनको लागि बलिङममा मा कियानचेङ र डेन जिङ्गीले १–१ विकेट लिए ।