काठमाडौँ। टिकटकर तुल्सी अधिकारी पक्राउ परेकी छिन्। अधिकारी अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा थाइल्याडबाट पक्राउ परेकी हुन्।
इन्टरपोलले अधिकारीविरूद्ध रेडकर्नर नोटिस जारी गरेको थियो। थाइल्याण्डमा रहेको सूचना पाएपछि इन्टरपोलले अधिकारीलाई पक्राउ गरी नेपाल पठाएको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार इन्टरपोलले अधिकारीलाई नेपाल पठाएको छ। आतइबार बिहान १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका अधिकारीलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको गौतमले बताए।
अधिकारीमाथि ठगी, आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ। तुलसा कलेक्सनकी सञ्चालिका रहेकी अधिकारीविरुद्ध सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ सञ्चालक कुमार चिमोरियाले वृत्त सातदोबाटोमा उजुरी दिएका थिए। २२ साउनमा उजुरी आएपछि प्रहरीले उनीविरुद्ध ठगी र आपराधिक कसुरमा अनुसन्धान गरिरहेको थियो।
अधिकारीमाथि १९ फागुन २०८१ मै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो। विभागले उक्त उजुरीमाथि गत २० कात्तिकबाट अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
अधिकारी सुनवल नगरपालिका ६‚ नवलपरासीको रहेको उनको नागरिकताबाट खुलेको मिश्रले बताए। अधिकारीले चार करोडभन्दा बढी रुपैयाँ गैरकानुनी तरिकाले आर्जन गरेको प्रहरीको भनाइ छ।